
बिर्तामोड, २१ चैत । दिल्ली पब्लिक स्कूल (डीपीएस) फूलबारीले नेपाली विद्यार्थीलाई अध्ययनका लागि भर्ना शुरु गर्ने भएको छ ।
भारतको सिलिगुढीमा सञ्चालित डीपीएस फुलबारीले आगामी शैक्षिक सत्रदेखि नेपाली विद्यार्थीलाई भर्ना शुरु गर्ने बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अन्तर्राष्ट्रियस्तरको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा आएको स्कूलले नेपाली विद्यार्थीलाई छात्रवृत्तिसहित भर्ना गर्ने जनाएको छ ।
स्कूलमा दार्जीलिङ, सिक्किम, बङ्गलादेश, भुटान, नेपाली विद्यार्थी अध्ययन गरिरहेको स्कूलका टिचिङ फ्याकल्टीका धृतिमान विश्वासले जानकारी दिए । स्कूलमा पढाइसँगै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइएको उनले बताए ।
अध्ययन मात्र नभएर विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखेर अध्यापन हुँदै आएको उनको भनाइ छ ।
धेरै विद्यार्थी नेपालबाट भारतका विभिन्न स्थानमा अध्ययनका लागि जाने गरेको बताउँदै एड्मिनिष्ट्रेशन काउन्सिलर निर्णय बाग्चीले बताए । उनले स्कूलमा सस्तो र सुलभ शुल्कमा विद्यार्थीलाई अध्यापन गराउँदै आएको बताए । प्रि–नर्सरीदेखि कक्षा–१२ सम्म स्कूलमा आवासीय सुविधासहित पढाइने उनको भनाइ छ । एउटा शैक्षिक सत्रमा ३ हजार विद्यार्थी मात्र भर्ना गरिने स्कूलले जनाएको छ ।
विद्या भारती फाउण्डेशन अन्तर्गत रहेका तीन वटा स्कूलमध्ये डीपीएस फूलबारी पनि एक भएको टिचिङ फ्याकल्टीका सुवास क्षेत्रीले बताए । उनलका अनुसार विद्यालय भारतभरिको सातौँ उत्कृष्ट र पश्चिम बंगालको सबैभन्दा उत्कृष्ट स्कूल हो ।
स्व. सुरेन्द्र अग्रवालको भिजनलाई अघि बढाउँदै उनका छोरा शरद अग्रवालले सन् २०१८ मा स्कूल स्थापना गरेका हुन् ।
डीपीएस फूलबारीमा अध्ययनसँगै दक्ष प्रशिक्षकहरुबाट विद्यार्थीलाई क्रिकेट, फूटबल, सूटिङ, टेबल टेनिस, स्विमिङ, लन टेनिस, बास्केटबल, योगा, भलिबल लगायतका खेलको प्रशिक्षण दिइने जनाइएको छ । स्कूलले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै विभिन्न सीप सिकाउने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



