
बिर्तामोड, १ बैशाख । पूर्वको व्यापारिक केन्द्र बिर्तामोडमा होटल रुस्किन सञ्चालनमा आएको छ ।
नयाँ वर्ष २०८१ को अवसरमा झापाको बिर्तामोड–५ स्थित बसपार्क जाने बाटोमा होटल रुस्किन सञ्चालनमा आएको छ । तीन करोड रुपैयाँका लगानीमा युवा व्यवसायी नरेश श्रेष्ठले सञ्चालन गरेको उक्त होटलको आज बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराले उद्घाटन गर्नुभयो । होटलको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि प्रसाईंले होटल क्षेत्रको विकासका लागि यहाँका पर्यटकीय स्थलको समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटनसँग होटल व्यवसायले सोझो सम्बन्ध राख्ने भएकाले पर्यटन प्रबद्र्धनमा समेत ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
होटल सञ्चालिका भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक श्रेष्ठले स्वागत मन्तव्य राख्नुहुँदै होटलले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी दिनुभएको थियो । होटलमा ११ वटा एसी कोठा र ४ वटा नन् एसी कोठाहरु छन् । त्यस्तै होटलमा थकालीसहित विभिन्न प्रकारका अर्गानिक तथा स्वादिष्ट खानाका परिकार उपलब्ध रहेको उहाँले बताउनुभयो । होटलमा १७ जनालाई प्रत्यक्ष रोजगारी पाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै होटलको प्रगतिको कामना गर्नुभयो । वक्ताहरुले आर्थिक चुनौती बढिरहेका बेला ठूलो लगानीमा होटल सञ्चालन गर्नु सुखद र चुनौती पूर्ण दुवै भएको बताएका थिए । उनीहरुले सरकारले केही गर्न चाहने व्यवसायीलाई विशेष सहयोग गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता डिएसपी कृष्ण चन्द, प्रहरी निरिक्षक ढुण्डीराज गिरी, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी, प्रकाश बिष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपाने, बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



