
बिर्तामोड, १८ बैशाख । झापाको बिर्तामोड–५ स्थित शनिचरे रोडमा ह्वाइट एन्जल ब्यूटीपार्लर सेलुन सञ्चालनमा आएको छ ।
दुबईको वरदुबईमा मुख्य कार्यालय रहेको सेलुनको चौथो शाखा बिर्तामोडमा सञ्चालनमा आएको हो । शाखाको उद्घाटन सोमबार एक कार्यक्रमका बीच बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले गर्नुभएको थियो । सेलुन उद्घाटन गर्दै स्वदेशमै केही गर्ने सोचले सेलुन सञ्चालनमा आएकाले सफलताका शुभकामना दिनुभयो ।

मेचीनगरकी सुजता गिरी र रिता बरालको संयुक्त लगानीमा सेलुन सञ्चालनमा ल्याइएको हो । लामो समयदेखि दुबईमा सेलुन व्यवसाय सञ्चाल गर्दै आएका उनीहरुको साझेदारीमा बिर्तामोडमा पनि चौथो शाखाका रुपमा सेलुन खोलिएको जनाइएको छ ।
सैलुनमा रेखा भुजेल, सुजता गिरी र देबीका बिष्टले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ । सीटीभिटीबाट मान्यता प्राप्त भएकाले सैलुनमा तालिम लिएर वैदेशिक रोजगारीमा जानेहरुलाई फाइदा पुग्ने सञ्चालक सुजता गिरीले बतायनुभयो । विदेश जान इच्छुक महिला दिदी–बहिनीहरुलाई अनुभवी प्रशिक्षकबाट तालिम प्रदान गरेर रोजगारीमा सहजता ल्याउने उद्देश्यले सेलुनको शाखा बिस्तार गरिएको उहाँको भनाइ छ ।
करीब ५० लाख रुपैयाँको लगानीमा खोलिएको सेलुनमा नङदेखि कपालको टुप्पोसम्मको सेवा प्रदान हुने सञ्चालक गिरीले बताउनुभयो । सञ्चालक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक तथा राजनीतिक ब्यक्तित्व पार्वत गिरी, वडाध्यक्ष प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अर्जुनधारा जेसीजका पूर्व अध्यक्ष भीम कुँवरले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



