
नेत्र बिक्रम बिमली
कचकवल, २ जेठ । झापाको दक्षिणी सिमामा अवस्थित कचनकवल गाउँपालिकामा ४३०४ जनाले सामाजिक सुरक्षा भत्ता लिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंसीले दिनुभएको जानकारी अनुसार सामाजिक सुरक्षा भत्ता बाहेक अति विपन्न १५ सय परिवारलाई पालिकाको नीति तथा कार्यक्रम मार्फत छुट्टाएको रकमबाट स्वास्थ्य विमा समेत गरिएको छ । अध्यक्ष राजवंसीका अनुसार अघिल्लो आर्थिक बर्ष २०७९र०८० मा विमा गरिएका १ हजार परिवारले बिमा नवीकरण गर्दा २५ प्रतिशत रकम बुझाउनु पर्छ भने आर्थिक बर्ष २०८०–०८१ को बजेट मार्फत थप ५ सय परिवारलाई भने पालिकाले नै निशुल्क बिमा गरिदिएको छ ।

त्यस्तै अध्यक्ष राजवंसीका अनुसार कचनकवल गाउँपालिका भित्रका गर्भवती महिलालाई समेत निशुल्क बिमा गरिदै आएको छ । आर्थिक रुपले अति विपन्न परिवारको बसोबास रहेको कचनकवलमा स्थानीय सरकारले जनमुखी र दिगो कार्यक्रम गर्न शुरु गरेको अध्यक्ष राजवंसीले बताउनुभयो ।

गाउँ पालिकाले उपलब्ध गराएको चालू आर्थिक बर्ष २०८०र०८१ को चौथो त्रैमासिक सम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ४ हजार ३ सय ४ पुगेको छ । नेपाल सरकारले प्रदान गर्ने ८ वटा कलस्टरका १७४१ पुरुष र २५७३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छ्न ।
कचनकवल गाउँपालिकाका ७ वटा वडाबाट पहिचान गरि पठाएका जेष्ठ नागरिक, जेष्ठ दलीत, एकल महिला, विधवा, पुर्ण अपांगता, अति अशक्त र अपांगता, दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३–३ महिनामा बैक मार्फत उनिहरुकै खातामा हालिदिने गरेको अध्यक्ष राजवंसीले जानकारी दिनुभयो ।
कचनकवल गाउँपालिकाले उपलब्ध गराएको विवरण अनुसार १३६९ पुरुष र १३०४ महिला गरि २६७३ जना जेष्ठ नागरिकले मासिक ४ हजारकादरले जेष्ठ नागरिक भत्ता पाउने गरेका छ्न । त्यसैगरी, ६० देखि ६८ उमेर समुहका जेष्ठ दलित २२ पुरुष र ९ महिला गरि ३१ जनाले मासिक २३६० जेष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको पालिकाले उपलब्ध गराएको विवरणमा जनाइएको छ ।
त्यस्तै ३६३ जना एकल महिला र ६०० जना विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउदै आएको छ भने १०४ जना पुर्ण अपांगता भएका ५५ पुरुष र ५९ जना महिलाले समेत मासिक ३९९० का दरले अपांगता भत्ता प्राप्त गरिरहेका छ्न ।
त्यसैगरी अति अशक्त अपांगता भएका २३७ पुरुष र १७९ जना महिला गरि ४१६ जनाले मासिक २१२८ रुपैयाँ भत्ता प्राप्त गरिरहेको विवरणमा उल्लेख छ ।त्यस्तै दलित बालबालिका ३९ पुरुष र २६ महिला गरी ६५ जनाले मासिक ५३२ रुपैयाँका दरले भत्ता पाउने गरेका छ्न भने लोपोन्मुख जातिका १९ पुरुष र ३४ महिला गरि ५३ जनाले मासिक ३९९० रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।
कचनकवल गाउँपालिकामा मात्र बार्षिक सामाजिक सुरक्षा भत्ता मार्फत ५ करोड ९५ लाख भन्दा बढी खर्च हुने गरेको पालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



