
कनकाई, ६ बैशाख । झापाको कनकाई नगरपालिकामा आज एक दिने सहकारी सम्बन्धी कार्यशाला गोष्ठी भएको छ ।
कनकाई नगरपालिकाको सहकारी शाखा आयोजनामा गोष्ठी भएको हो । गोष्ठीमा कनकाईमा मुख्य कार्यालय र सेवा केन्द्र भएका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक डिल्ली दाहालले प्रशिक्षण समेत दिनुभएको थियो । उहाँले झापामा रहेका ७५६ वटा सहकारीमध्ये एक दर्जन सहकारीमा समस्या देखिएको बताउनुभयो ।
कार्यशालामा नगरप्रमुख राजेन्द्र पोखरेलले सबै सहकारी खराब नभएको बताउँदै केही गलत नियत भएका व्यक्तिले गलत गर्दा सहकारी बदनाम भएको बताउनुभयो । उहाँले सहकारी सञ्चालकहरुले सदस्यमैत्री बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “खराब सहकारीलाई कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सँगै राम्रालाई त्यही अनुसार व्यवहार गर्नुपर्छ ।”
सदस्यकै बचतबाट सहकारी सञ्चालन हुने भएकाले एउटा सदस्यको बचत अर्को सदस्यले ऋणका रुपमा लिने भएकाले सबैले इमान्दार भएर बचत गर्नुपर्ने र ऋण तिर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटीले सबै सहकारीले बचतकर्ताको हितमा काम गर्नुपर्नेमा जोड दिँदै सदस्यले समेत आफू आबद्ध सहकारीको अवस्थाबारे बेला बेलामा निगरानी गर्नुपर्नेमा जोड दिनुभयो । “अहिले मर्दा–पर्दा सहकारीले सदस्यलाई धेरै सहयोग गरिरहेका छन्”, उहाँले भन्नुभयो, “सहकारी मात्रै त्यस्तो संस्था हो, जसले नाफा भन्दा पनि सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्छ, यस्तो संस्थामा विकृति भित्रिन दिनु हुँदैन ।”

कनकाई नगरपालिकाका आर्थिक समितिका कार्यवाहक संयोजक मोहन संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, योजना शाखा प्रमुख जमुना कटुवाल लगायतको आतिथ्य रहेको थियो ।
कनकाई नगरभरि मुख्य कार्यालय र सेवा केन्द्र रहेका ५० सहकारी संस्था रहेको शाखा प्रमुख हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । “त्यसमध्ये एउटा मात्रै समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “बाँकी सहकारीका बारेमा नगरमा गुनासो आएको छैन ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



