
झापाको मध्यभागमा रहेको बन्दमुक्त पर्यटकीय तथा विद्युत् चुहावटमुक्त नगर कनकाई नगरपालिकाको विविधि गतिविधिसँग सम्बन्ध्ति रहेर नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसँग झापा अनलाइनका सम्पादक सन्तोष शर्मा र पत्रकार चन्द्र बस्नेतले गर्नुभएको कुराकानीको संक्षेप-
आर्थिक वर्षको अन्त्यको संघारमा छौं । के–कस्तो काम भएका छन् ?
आर्थिक वर्ष २०८०÷८१ का लागि कनकाई नगरपालिकाको कार्यपालिकाले गरेको निर्णय अनुसार अधिकांश कार्य सम्पन्न भइसकेका छन् भने कतिपय कार्यक्रम सम्पन्न हुने क्रममा छन् । संघीय सरकारसँग सहकार्य गरिएका कामहरु करिब–करिब सकिएको छ । प्रदेश सरकारसँगको कार्यक्रम पनि लगभग सकिने अवस्थामा छ ।
तोकिएको बजेट कटौती भइरहेको अवस्था के–कस्ता समस्या देखिएका छन् ?
विकासका कुरा बजेटसँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसबाट प्रभावित हुन्छ । विगत २०७८÷०७९ मा जति बजेट थियो, पछिल्ला दुई वर्ष यता त्यस्तो अवस्था छैन । प्रक्षेपित बजेट भन्दा कम बजेट प्राप्त भइरहेको छ । अघिल्लो आव २०७९÷८० मा पनि आठ करोड रुपैयाँ बजेट कम प्राप्त भयो । अघिल्लो वर्ष पनि कार्यक्रम प्रभावित भए । हामीले कनकाईमा विपन्नका लागि पाँच सय वटा घर निर्माणको लक्ष्य लिएका थियौं । सबै कनकाईबासीलाई न्यूनतम् मापण्डद पूरा भएको बस्न योग्य घरमा राख्ने योजना थियो । सुरुकै वर्षमा बजेट घट्दा हामीले काम गर्न सकेनौं । अरु कार्यक्रम पनि प्रभावित भयो ।
त्यसरी नै यो वर्ष पनि राजश्व वापत प्राप्त हुनुपर्ने करिब साढे नौ करोड रुपैयाँमा साढे चार करोड रुपैयाँ कम प्राप्त भएको छ । सामानीकरण अनुदानमा समेत करिब तीन करोड रुपैयाँ कम हुने अवस्था छ । स्थानीय सरकारले केन्द्र सरकारको विरुद्ध आन्दोलन गर्ने विषयमा पनि हामी सोचिरहेका छौं । पछिल्लो पाँच वर्षको तुलनामा अहिले काम गराइमा ब्रके लागेजस्तो छ । तर पनि सन्तुलित काम रुपमा विकासको काम गरिरहेका छौं ।
बजेटको प्राथमिकता के हो ?
नगरको सन्तुलित विकास नै बजेटको प्राथमिकता हो । कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायत बजेटको प्राथमिकताका विषय हुन् । अग्र्यानिक कनकाई बनाउन तरकारी उत्पादन, बजारीकरण भइरहेको छ । स्वस्थ्य नागरिक बनाउन योग कक्षाहरु सञ्चालन गरिरहेका छौं ।
अरु क्षेत्रमा बजेट कटौति गरे पनि हामीले शिक्षा क्षेत्रमा बजेट काटेका छैनौं । विद्यालयको भौतिक पूर्वाधार, विद्यालय पोशाक, शिक्षकलाई तालिम, विद्यार्थीको सर्वाङ्गिण विकासका लागि नृत्य, संगीत, चित्रकला, खेलकुद रहेक क्षेत्रको विकास गर्न कार्यक्रम रुपमा काम गरिरहेका छौं । जसले परिणाम पनि राम्रै देखिएको छ ।
सिञ्चाइका लागि अघिल्लो वर्ष चार सय र यो वर्ष चार सय वटा विद्युत मोटर वितरण गर्ने सोच थियो । यो वर्ष हामीले चार सय वटा मोटर वितरण गर्ने सोच रहेको छ । सिञ्चाइ मोटर वितरणले पनि अहिले कनकाईका खेतबारी हराभरा भएका छन् ।
पूर्वाधारको अवस्था के छ त ?
पूर्वाधारको सन्दर्भमा आगामी दुई वर्षमा अधिकांश मुख्य सडक पक्की सडक बनिसक्ने छन् । बजार–गाउँका सानातिना पनि पेवर्स बनाउने कुरा छ । सबै बाटाहरुलाई हिँड्न योग्य गुणस्तरीय ग्राबेल गरिएको छ ।
विद्युतीकरणको सवालमा पछिल्लो सात वर्षमा नगरभरि करिब ४० वटा ट्रान्सफर्मर जडान भइसकेको छ । आज भन्दा छ–सात वर्ष बर्खे धान लगाएपछि करिब–करिब खेतहरु बाँझो हुने अवस्था थियो । अहिले करिब ८० प्रतिशत जग्गा मकै लगायतका अन्य बाली लगाएको अवस्था छ ।
स्वास्थ्य क्षेत्रमा प्रगति नि !
स्वास्थ्यको सन्दर्भमा पनि हामीले धेरै काम गरेका छौं । पहिला सानो–तिनो परीक्षण गर्न पनि अन्यत्रै जार्ने अवस्था थियो । अहिले अधिकांश परीक्षण नगर अस्पतालमै हुन्छ । थाइराइड, भिडियो एक्स–रे, एक्स–रे, इसीजी लगायतका अधिकांश परीक्षण यहीँ हुन्छ । अब बिस्तारै मुटुरोग विशेषज्ञको सेवा पनि विस्तार गर्ने सोच बनाइरहेका छौं । बिहान ८ बजेदेखि ओपीडी सेवा सुचारु गरेर नगरबासीलाई स्वास्थ्य सेवाको पहुँच र गुणस्तर बृद्धि गरिहेको छौं ।
१५ शैय्याको अस्पताल सञ्चालन गरेर नगरबासीलाई सेवा गरिरहेका छौं भने नयाँ भवन निर्माण पश्चात थप सेवा विस्तार गर्ने लक्ष्य छ । माइनर अपरेशन गर्न सक्ने अवस्थामा छ । बालरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ लगायतका सेवाहरु दैनिक वा आशिंक रुपमा उपलब्ध गराइरहेका छौं । सानो–तिनो बिरामी हुँदा अन्यत्र जानुपर्ने नगरबासीको बाध्यतालाई हामीले अन्त्य गरेका छौं । अझै गर्नुपर्ने धेरै छ ।
कनकाई नगरमा नदीनाला धेरै छन् । मनसुन पनि शुरु हुँदैछ । विपद् व्यवस्थापनका बारेमा के सोच्नु भएको छ ?
कनकाई धेरै वटा नदी नालाले घेरिएको नगर हो । हामीले सबै नदी–नालालाई व्यवस्थित गरिरहेका छौं । अहिले जस्तो सुकै ठूलो बाढी आयो भने पनि कुम्लो बोकेर भागिहाल्नुपर्ने अवस्था छैन । तटबन्धन–निदी नियन्त्रणका काम भएको छ÷ भइरहेको छ ।
काम गर्दाका समस्या के छन् ?
काम गर्दा धेरै नगरबासी, कर्मचारी, राजनीतिक दल लगायत सबै क्षेत्रबाट सहयोग प्राप्त भएको छ । तथापि, केहीबाट अवरोध पनि हुने गरेको छ । हामीले बुझाउन नसकेर हो वा किन हो विरोध थोरबहुत आउने गरेको छ । जे भए पनि अन्य स्थानीय तह भन्दा यहाँका नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंस्था, नगरबासी सबैबाट उल्लेख्य साथ–सहयोग मिलिरहेको छ ।
नागरिकलाई विकास र सुविधा चाहिएको छ । भनेजस्तो नहुँदा गुनासो आउँछ । बजेट कटौती हुँदा विकास प्रभावित भएकै हो । तर, नागरिकलाई बुझाउँदा बुझ्नु पनि भएको छ । नगरले गरेका विकास निर्माणको कार्यप्रति नगरबासीले अपनत्व ग्रहण गर्नुपर्छ । नगरबासी नगरपालिकाले हाम्रो लागि काम गरहेको छ भन्ने सोच्नुपर्छ । आफ्नो क्षेत्रमा भइरहेको विकास निर्माणको निगरानी गर्न जरुरी छ ।
अन्यमा के भन्नु हुन्छ ?
म के मात्र भन्छु भने मानिस कृज्ञत हुनुपर्छ, कृतज्ञता ठूलो कुरा हो । कनकाईको विकासका लागि एउटा अठोटको साथ लागिरहेको छु । यसमा कनकाईका सबै नागरिकदेखि राजनीतिक दल, संघसंस्था सबैले सहयोग गरिरहनुभएको छ । उहाँहरुप्रति म धन्यवाद ज्ञापन गर्दछु ।
जसरी हामी सबैका पूर्खाहरुले कनकाईलाई राम्रो बनाउन कष्टकर जीवनयापन गदैै योगदान गर्नुभएको थियो । त्यसरी नै हामीले पनि हाम्रो ठाउँलाई राम्रो बनाउन लागि पर्छ, यसमा सबैको साथ सहयोग जरुरी छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



