
भद्रपुर, १३ जेठ । भूमिसुधार तथा मालपोत कार्यालय झापाको राजश्व संकलनमा बृद्धि भएको छ ।
गत आर्थिक वर्षको तुलनामा कार्यालयले डेढगुणा बढी राजवश्व संकलन गरेको कार्यालय प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कार्यालयले रू ६३ करोड ६९ लाख एक हजार सात सय २२ राजस्व संकलन गरेको छ ।
कूल राजश्व रू ६८ करोड ९७ लाख ५५ हजार आठ सय २६ संकलन भए पनि रू पाँच करोड १० लाख ५४ हजार एक सय चार कर छुट गरिएको उहाँले बताउनुभयो ।
गत आवमा २०७९÷०८० मा कार्यालयले रू ४३ करोड २० लाख ९२ हजार छ सय १५ राजस्व संकलन गरेको थियो । “यो वर्ष सस्तो मूल्यमा जग्गाको कारोबार धेरै भएको छ”, कार्यालय प्रमुख भण्डारीले भन्नुभयो, “जग्गाको कारोबार बढेसँगै राजश्व संकलन समेत बढेको छ ।”
कार्यालय चालू आवको १० महिनाको अवधिमा सेवा कर वापत रू पाँच करोड ९२ लाख ३४ हजार तीन सय ८४, रजिस्ट्रेसन दस्तुर वापत रू ३९ करोड १७ लाख ८७ हजार सय पाँच राजश्व संकलन गरेको छ ।
त्यस्तै, पुँजीगत लाभकर वापत रू २३ करोड ६६ लाख ७३ हजार आठ सय ३० र विलम्व शुल्क वापत रू ९५ हजार पाँच सय संकलन भएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



