
सन्तोष शर्मा
झापा, ९ असार । झापाको कनकाई नगरपालिकाले नगरको वृहत्तर विकासलाई लक्षित गरी आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।
आज १६ औं नगरसभामा नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरको वृहत्तरहितका लागि आगामी आर्थिक वर्षका लागि १८४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
भौतिक पूर्वाधारतर्फ ‘हाम्रो विकास हाम्रो हात, जुटौं सबै एक साथ’ भन्ने नाराका साथ २७ बुँदे नीति तथा कार्यक्रम रहेको छ । नगरको पूर्वाधार विकास गुरुयोजना अनुसार गरिने, लागत साझेदारीका योजनालाई प्राथमिकता दिइने, गुणस्तरीय र मापदण्ड अनुसारको पूर्वाधार विकासका काय गर्ने लगायतका कुरा समेटिएको छ ।

त्यस्तै, सामाजिक विकासतर्फ शिक्षा, युवा तथा खेलकुदतर्फ ३४ बुँदे, स्वास्थ्यतर्फ १३ बुँदे, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग तथा लक्षित वर्गतर्फ आठ बँुदे नीति तथा कार्यक्रम बनाइएको छ । नगरका स्वास्थ्य संंस्थाहरुबाट प्रदान गरिने सेवालाई चुस्त दुरुस्त बनाउने, नगर अस्पतालाई सुविधा सम्पन्न बनाइने लगायतका विषयलाई प्राथमिकता दिइएको नगर उप्रमुख शिवाकोटीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, वन, वातावरण विपद् व्यवस्थापन तथा पर्यटन तर्फ खानेपानी तथा सरसफाइ अन्तरगत पाँच बुँदे, वन वातावरण तथा पर्यटनर्फ ११ बुँदे र विपद् व्यवस्थापनतर्फ ११ बुँदे नीति तथा कार्यक्रम तयार गरिएको छ । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकका झोला प्रयोगमा निरुत्साहित, एक घर एक बिरुवा, एकीकृत विपद् व्यवस्थापन केन्द्र निर्माणका लागि सहयोग समन्वय गरिने नीति कार्यक्रममा उल्लेख छ ।

नगरको सार्वजनिक सेवा, सुशासन तथा संस्थागत क्षमता विकासतर्फ पेपरलेस अवधारणा, जनताको घरदैलोमा जनप्रतिनिध कार्यक्रम अन्तरगत नगरबासीका गुनासो सुन्ने, गरौं मिलाप नगरौं विलाप भन्ने नाराका साथ न्यायिक समितिमा दर्ता हुने सबै विवाद तथा उजुरीको समाधान गर्ने लगायतका २९ बुँदे नीति तथा कार्यक्रम तय गरिएको छ ।
आर्थिक विकासतर्फ राजश्व परिचालन २३ बुँदे, कृषि तथा पशुपालनमा १६ बुँदे र उद्योग, बाणिज्य, सहकारी तथा वित्तीय क्षेत्रतर्फ ७ बुँदे नीति तथा कार्यक्रम नगरले निर्माण गरेको छ ।
नगर सभामा कनकाई वडा नं. १ का अध्यक्ष सुशील पोखरेल, २ का वडाध्यक्ष बलराम राई (प्रताप) र ८ नं. वडाका वडाध्यक्ष लीलाबहादुर कटुवालले नीति तथा कार्यक्रममा सुझाव दिनुभएको थियो ।
सभाध्यक्ष नगरप्रमुख राजेन्द्र पोखरेलले सभासदहरुले उठाएका सवाल र सुझावहरुलाई नीति तथा कार्यक्रममा समेटिने बताउनुभयो । ‘आएका सुझावलाई समावेश र संशोधन गरे जान्छौं’, उहाँले भन्नुभयो, ‘म प्रतिबद्धता जनाउँछु ।’
सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत सुरज प्रधान, वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्यहरुको लगायतको उपस्थितिले नगर सभाले आगामी वर्षको नीति तथा कार्यक्रमलाई संंशोधनसहित पास गरेको छ । नगर सभा भोलि सोमबार दिउँसो ३ बजे पुनः बस्ने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



