
झापा, १० असार । झापाको बिर्तामोड–शनिश्चरे सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको छ । करिब साढे १५ करोडको लगातमा छ किलोमिटर सडकको कालोपत्रे गर्ने काम शुरु भएको हो ।
पहिलो चरणमा असार मसान्तभित्र अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रे शुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिनुभयो ।
“बहुवर्षे योजना अनुसार सडक निर्माण कार्य भइरहेको छ”, इञ्जिनियर खतिवडाले भन्नुभयो, “मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।” बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रेको मोटाइ ४० सेन्टीमिटर रहने उहाँले बताउनुभयो ।
सडक निर्माणमा ढिलाइ भएको भन्दै तीन महिना अघिदेखि स्थानीयबासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण कार्य शुरु भएसँगै स्थानीयबासी खुसी भएका छन् । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको उक्त सडकको अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला लगायत जनप्रतिनिधि र स्थानीयबासीको पहलमा सडक कालोपत्रे शुरु भएको हो ।

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षक अन्तरगत सडक कालोपत्रे शुरु भएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेबले जानकारी दिनुभयो । “सडक कालोपत्रे नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्रे शुरु भएको हो ।”
सडक कालोपत्रेका लागि रू २५ करोडको कबोल अंक तोकेर बोलपत्र आह्वान गरिएको पनि प्रबिण मैनाचुली शान्ति जेभी बिर्तामोडले रू १५ करो ५० लाखमा ठेक्का लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



