
चन्द्र बस्नेत
कनकाई, १० असार । झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ६९ करोड ७७ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगर सभाको १६ औं अधिवेशनमा नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले उक्त बजेट पेश गर्नुभएको हो । नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको कृषि, पशुपालन, स्वास्थ्य र शिक्षातर्फ मुख्य जोड दिएको छ ।

कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले यस आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कृषि तथा पशुपालनतर्फ उक्त योजना सार्वजनिक गर्नुभएको हो । उहाँले कृषितर्फ यसको अलवा उन्नत जातको बिउमा आत्मनिर्भर बन्ने गहुँखेती र तरकारी खेती प्रवर्द्धन, फलफूलको नर्सरी विकास, अन्न बैँक स्थापना, जैविक खेतीलाई प्रवर्द्धन तथा कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । उहाँले कृषिमा जोड दिँदै एक वडा एक नमुना सामूहिक खेती गरिने र कृषिको प्रवर्द्धनका लागि पत्रकार र सञ्चार माध्यमको समेत प्रयोग गरिने नीति सार्वजनिक गर्नुभएको छ ।

कनकाई नगरपालिकालाई अर्गानिक खेतीको नगर बनाईने भन्दै पशुपक्षि र माछामा समेत आत्मनिर्भर नगरपालिका बनाइने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कृषिका लागि खाने तेल तरकारी र दुध तथा मासुजन्य उत्पादन र बिउ उत्पादनका क्षेत्रमा नगरले सहजीकरण गरिदिने नीति सार्वजनिक गरिएको छ ।
कृषि क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनगर गर्दै कृषि बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने निति कनकाई नगरपालिकाले लिएको छ । समुन्नत सम्पदा दिगो पूर्वाधार, समृद्ध कनकाई मूल आधार भन्ने नारा तय गरेको कनकाई नगरले सडक निर्माण गर्दा सडकको दुबै किनारामा बिरुवाहरु रोपिने, पुराना सडक मर्मतका लागि हरेक वार्डलाई अनिवार्य कम्तीमा १० लाख रुपियाँ बजेट विनियोजन गर्ने लगायातको नीति नगरले लिएको छ ।

नगरपालिकाले गत साउन १ गतेदेखि आफ्नो नगरभित्र सुर्तीजन्य पदार्थको भने खरिद बिक्री गर्न पूर्णतया प्रतिबन्ध लगाएको छ ।
यता कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले समग्र आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रहरुको विकास समानुपातिक ढंगबाट व्यवस्थापन गर्न नगरपालिका दृढ संकल्पित रहेको बताउनुभयो । नगर प्रमुख पोखरेलले स्थानीय सरकार गठन भए पश्चात जनप्रतिनिधिहरुबाट नागरिकले अनुभूत गर्नेगरी समग्र क्षेत्रको परिवर्तन र विकासका कार्यहरु निरन्तर भइरहेको बताउनुभएको थियोे । संघीय तथा प्रदेश सरकारको बजेट बिनियोजनबाट प्राप्त योजना, कार्यक्रम र आयोजनाहरु तोकिएको समयमा नै सम्पन्न भइरहेको उपप्रमुख शिवाकोटीले जानकारी गराउनुभयो।
“समुन्नत सम्पदा दिगो पूर्वाधार, समृद्ध कनकाईको मूल आधार” भन्ने नगरको नारालाई आत्मसात गराउदै उपप्रमुख शिवाकोटीले आ।ब।का लागि मुख्य पाँचवटा क्षेत्रमा क्षेत्रगत बजेट प्रस्तुत गर्नुभएको हो। जस अन्तर्गत “हाम्रो विकास हाम्रो हात, जुटौं सबै एकै साथ” भन्ने नाराका साथ कनकाई नगरपालिकाको पूर्वाधारको निर्माण पूर्वाधार विकास गुरुयोजना बमोजिम गरिने जानकारी गराउँदै भौतिक पूर्वाधार विकासको क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढ्ने विश्वास दिलाउनु भयो।
त्यस्तै सामाजिक विकास तर्फ—शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, महिला, बालबालिका,ज्येष्ठ नागरिक, अपाङ्ग तथा लक्षित वर्गका लागि विशेष कार्ययोजना अघि बढाइने बताइएको छ ।
शिक्षातर्फ योग शिक्षा र ध्यान कक्षालाई हरेक कक्षामा अनिवार्य गरिने र स्थानीय मातृभाषमा पठनपाठन अनिवार्य गर्ने नीति लिएको छ । यता स्वास्थ्य क्षेत्रमा समेत नगर अस्पतालको स्तरोन्नति गरिने र एलोपेथिक चिकित्साको साथमा आयुर्वेदिक चिकित्सा प्रणाली र होमियोप्याथिक चिकित्सा प्रणालीको समेत विकास गरिँदै लगिने नीति लिएको छ।
नगरप्रमुख पोखरेलको अध्यक्षतामा आयोजित नगर सभामा सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ , वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य नगर तथा वडाका सम्पुर्ण कर्मचारीहरु लगायतको उपस्थिति रहेको नगर सभाले आगामी वर्षको बजेट सार्वजनिक गरेको हो। नगर सभाको अर्को बठैक आगामी २३ गते आइतबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको नगर प्रमुख पोखरेलले सभा समक्ष जानकारी गराउनुभएको थियोे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



