
सन्तोष शर्मा
झापा, १३ साउन । झापामा एक वर्षको अवधिमा करिब ४७ किलोमिटर सडक कालोपत्रे भएको छ ।
पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुई वटा बहुबर्षे २० दशमलव ४७ किलोमिटर गरी कूल ४६ दशमवल ८५ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

कार्यालयका सूचना अधिकारी उत्तम खरेलका अनुसार कार्यालय मातहत १४ किलोमिटर सडक मर्मत भएका छन् भने २३ दशमवल ३०२ किलोमिटर ग्राभेल भएका छन् । चार वटा मोटरेवल पुल समेत निर्माण भएको सूचना अधिकारी खरेलले बताउनुभयो ।
झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार दशमवल २८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमवल २०५ किलोमिटर सोलिङ र शून्य दशमलव ३५५ किलोमिटर सडक कालोपत्रे गरेको छ । दुई वटा मोटरेवल पूल समेत निर्माण गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले गत आवमा पूँजीगत र चालू गरी प्राप्त गरेको रू दुई अर्ब १४ करोड ७६ लाख ५० हजार बजेट मध्ये रू एक अर्ब ५७ करोड ७० लाख ६६ हजार खर्च गरेको छ । वित्तीयतर्फ कार्यालयले गत आवमा ७३ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
