
बिर्तामोड, १६ साउन । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखामा मुद्दतिमा राखिएको एक करोड बढी रकम अवधि पूरा भएपछि झिक्न जाँदा नरहेको पाइएको छ ।
उक्त बैंकमा झापा बिर्तामोड–७ की मञ्जु नेपालको नाममा रहेको खातामा ०१२०२२७२६०७०००४२ नम्बरको खातामा छ महिनाका गत जनवरी १६, २०२४ मा लागि एक करोड १० लाख ४३ हजार रुपैयाँ बैंकमा राखेको जनाइएको छ ।


उक्त रकमको अवधि समाप्त भएपछि लिन जाँदा खातामा जम्मा २ लाख रुपैयाँ मात्र भएको बैंकका कर्मचारीले बताएको मञ्जुका श्रीमान् टिकाराम नेपाल (नेति)ले बताए । उनले भने, ‘बैंकमा जम्मा गरेको सबै कागजात छ, तर पैसा खातामा देखिएन ।’
बैंकका कर्मचारी प्रमोद सिटौलाले आफूलाई पैसा जम्मा गरेको भौचर पठाउने गरेको टिकारामले बताए । ‘म अमेरिका जानु अघि पैसा श्रीमतीको नामको खाताबाट मुद्दतीमा राखेर गएको थिएँ’, उनले भने, ‘फर्किर आएपछि पैसा लिन जाँदा छैन ।’

बैंकका कर्मचारी सिटौलालाई सम्पर्क गर्दा तपाईं चिन्ता नगर्नोस् भनेको र आज १० बजे पैसा पाउनहुन्छ भन्दै विश्वस्त बनाएर १० बजेपछि सम्पर्कबिहीन भएको बताए । कर्मचारी सिटौला र बैंक विरुद्ध आज जिल्ला प्रहरी कार्यालय झापामा ठाडो उजुरी समेत दिएका छन् ।
यता, बैंकका शाखा प्रमुख गणेशबहादुर बरालले केन्द्रीय कार्यालयमा जानकारी गराइसकिएको बताए । उनले भने, ‘केन्द्रबाट छानबिन टोली भोलि आउँदैछ ।’ कानूनी बाटोबाट समस्याको समाधान हुने उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
