झापा, १२ मंसिर । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रबारदेखि युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
१५ सदस्यीय नेपाली टोलीको बुधवार त्यसतर्फ प्रस्थान गरेको हो । केही दिनअघि भारतको कनार्टक यु १९ सँगको ५ खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टोली तयार गरिएको थियो ।
क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । नेपाली युवा टोलीको कप्तानमा सिनियर टोलीका लागि खेलिसकेका तीव्र गतिका बलर हेमन्त छन् ।
एसिया कप प्रतियोगिता मङ्सिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको पहिलो खेल मङ्सिर १४ गते श्रीलङ्कासँग रहेको छ । दोस्रो खेलमा मङ्सिर १६ गते बङ्गलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मङ्सिर १८ गते मा अफगानिस्तानसँग खेल्नेछ । खेल ५० ओभरको हुनेछ ।
एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह बीमा नेपाल श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल मङ्सिर २३ गते हुनेछ ।