
ताप्लेजुङ, १८ मंसिर । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल हिजो भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ । २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।
आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार हिजो भएको तेस्रो क्वाटर फाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजङ्घा फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।
प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लबले सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा गोधुलीले शम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका क्वाटर फाइनल खेलमा शम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन्।
मङ्गलबार न्यू स्टार क्लब विर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबिच पहिलो चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताका विजेताले रू तीन लाख दुई हजार ८१ पुरस्कार पाउनेछन् भने उपविजेताले रू एक लाख ५१ हजार ८१ प्राप्त गर्ने छन् ।


