
झापा, ४ फागुन । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जुनधारा र कनकाई नगरपालिकाबीच हुने भएको छ ।
बिर्तामोडको डोमालाल रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । कनकाई नगरपालिकाका कोच सन्तोष रायमाझीले बिर्तामोड नगर खेलकुद विकास समितिले सवै भन्दा ठूलो पुरस्कार राशीको महिला फुटबल प्रतियोगिता गरेकोमा धन्यवाद दिए । उनले कनकाई र अर्जुनधाराका दुवै खेलाडी उत्कृष्ट रहेको बताउँदै जुन टिमले जिते पनि झापाकै जित हुने बताए पनि उपाधि कनकाईले उचाल्ने बताए ।
यता, अर्जुनधारा नगरका कोच पुष्प मादेनले आफ्नो टिम उत्कृष्ट रहेको तर, कनकाईको टिम पनि कमजोर नभएको बताए । उनले पनि जितहार जे भएपनि प्रतियोगिता हुनु नै ठूलो कुरा भएको बताए । तर पनि उपाधि आफ्नै पोल्टामा पर्ने उनको दाबी छ ।
माघ २६ देखि शुरु भएको प्रतियोगिताको फाइनल भोलि हुनेछ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको बिजेताले तीन लाख र उप–विजेताले नगद एक लाख ५० हजार प्राप्त गर्नेछ ।



