
भद्रपुर, ५ फागुन । भद्रपुरको मेची रंगशालामा हुन लागेको भद्रपुर झापा गोल्डकपमा दर्शक केन्द्रित धेरै योजना ल्याएको छ ।
दर्शकले मोटरसाइकलदेखि दैनिक चाँदीको सिक्का पाउने भएको छ । आज प्रतियोगिता आयोजनास्थल मेचीरंगशालामा आयोजित पत्रकार सम्मेलनमा गोल्डपको तयारी पूरा भएको र दर्शक लक्षित विभिन्न योजना ल्याएको जानकारी दिइयो ।
प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सबाट उपलब्ध एक थान टिभिएस मोटरसाइकल र अर्का एकजना दर्शकलाई सुनचाँदी व्यवसायी संघ भद्रपुरको तर्फबाट प्राप्त एक थान सुनको सिक्री उपहार प्रदान गरिने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।
प्रत्येक दिन टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाले चाँदीको सिक्काको व्यवस्था गरेको छ । फाइनलकै दिन पाँचजना दर्शकले एकएकवटा स्प्रे ट्यांकी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ र फाइनलमा बाँसको प्यारापिटका लागि ३०० रुपैयाँ र पक्की प्यारापिटका लागि ५०० रुपैयाँ कायम गरिएको छ । प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहनेछन् ।


