
चन्द्र बस्नेत
कनकाई, २५ फागुन । कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता दोस्रो खेलमा कनकाई महिला फुटबल विजयी भएको छ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको खेल मैदानमा आजदेखि शुरु भएको खेलमा बुद्धशान्ति महिला फुटबल टिमलाई ५–० गोल अन्त्तरले पराजित गरेको छ ।

खेल अवधिभर कनकाईका खेलाडीले दबाबमा राखेका थिए । खेलको १७ औं मिनेटमा बुद्धशान्तिकी जर्शी नं. १२ की खेलाडी करुणा राईको आत्मघाती गोलबाट कनकाईले सुरुवाती अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा कनकाईकी जर्शी नं. ११ खेलाडी समीक्षा मगरले गोल गर्दै पहिलो हापमा २ गोल गरेको थियो भने दोस्रो हापको ३४, ३६ र ४३ औं मिनेटमा कनकाईका खेलाडी जर्शी न ११ समिक्षा मगर, जर्शी न ७ की खेलाडी मनिता तुम्रोक र जर्शी न १५ की खेलाडी पूर्णिामा राईले थप तीन गोल गर्दै कनकाईले ५–० को जित सुनिश्चित गरेको हो ।
खेलको प्लेयर अफ द म्याच कनकाईकी जर्शी न ८ की खेलाडी जेनिफर राना घोषित भईन । उनले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरेको प्रतिष्ठानका खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो ।

२६ गते भोलिको खेल दमक र मेचीनगरपालिकाको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी पाउने क्लबका सचिव रामप्रसाद निरौलाले जानकारी दिनुभयो ।
फागुन २४ गते शनिबार अन्तरास्ट्रिय नारी दिवसको अवसर पारी प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगिताको उद्वघाटन खेलमा घैलाडुब्बा युवा क्लबलाई पराजित गर्दै बाह्रदशी विजयी भएको थियो । जिलाका ८ टोली सहभागी प्रतियोगिता आगामी चैत २ गते समापन हुने जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।
प्रतियोगिताको सहयोगी संस्थाका रुपमा कनकाई नगरपालिका वडा नं.२ को कार्यालय, जामुनखाडी स्पोर्टिङ क्लब र जामुनबारी कीर्तन मण्डली रहेको बताइएको छ । प्रतियोगिताको अवधिभर स्वास्थ्य सामग्रीको निःशुल्क सेवा कनकाई–१ जुकेकल्भर्टस्थित अग्रज फार्मेसीले गरिरहेको आयोजकले जनाएको छ ।
