
कुखुराजस्तै देखिने होआट्जिन चरालाई संसारकै सबैभन्दा दुर्गन्धित पक्षी मानिन्छ । यो एकमात्र यस्तो चरा प्रजाति हो जसले आफ्नो खाना पेटमा कुहाएर अर्थात फर्मेन्टेसन गराएर पचाउँछ । वास्तवमा यसको यहीँ अनौठो पाचन प्रणालीले यसलाई संसारको सबैभन्दा दुर्गन्धित चरा पनि बनाएको छ।
होआट्जिन एक अत्यन्तै अनौठो चरा हो । यो अमेजन क्षेत्रका दलदल तथा जलक्षेत्रहमा पाइन्छ । यसको विशेषता यति अनौठो छ कि यसका चल्लाहरूको पखेटामा नै नंग्राहरू हुन्छन्। होआट्जिन करिब ६४ लाख वर्षअघि पृथक रूपमा विकास भएको एक प्राचीन चरा समूहको अन्तिम जिवित सदस्य मानिन्छ।
यो चरा शाकाहारी हो र केवल बोटबिरुवामात्र खान्छ । पूर्ण रुपमा शाकाहारी हुनु चराहरूका लागि निकै असामान्य मानिन्छ। तर शाकाहारी हुनुका अलावा होआट्जिन चरा आफ्नो दिसाजस्तै गन्हाउने गन्धका कारण चर्चित छ । जसका कारण यसलाई ‘स्टिंग बर्ड’ अर्थात् ‘दुर्गन्धी चरा’ भन्ने उपनाम दिइएको छ।
यो एकमात्र यस्तो चरा हो जसको पाचन प्रणाली गाईको जस्तै फोरगट फर्मेन्टेसन सिस्टम हुन्छ। यसले खाना उघ्राएर फर्मेन्टेसन गर्दा धेरै मात्रामा मिथेन ग्यास निकाल्छ, जुन लगातार डकारको रूपमा निस्कन्छ। यी डकारहरू र दुर्गन्धित दिसाकै कारण होआट्जिन चरा निकै दुर्गन्धित हुन्छ ।
धेरैजसो चराहरूमा क्रप अर्थात् गोजेरो भनिने घाँटीको नजिकै रहेको एउटा सानो थैलीजस्तो अङ्ग हुन्छ। यसले खाना भण्डारण गर्ने काम गर्छ र चल्लाहरूलाई अलिकति खाना खुवाउन प्रयोग गरिन्छ। तर होआट्जिनमा यो थैली धेरै ठूलो हुन्छ । यसलाई चराले खाएका पातहरू फर्मेन्टेसन गर्ने फर्मेन्टेसन च्याम्बरको रूपमा काम गर्छ। यो थैली यति ठूलो हुन्छ कि चराका लागि उड्न प्रयोग हुने मांशपेशीहरुका लागि समेत ठाउँ पुग्दैछ। त्यसैले वयस्क होआट्जिन चरा धेरै लामो समयसम्म उड्न सक्दैनन्।
यस गोजेरो भित्र विशेष प्रकारका ब्याक्टेरिया हुन्छन् जसले पातहरूलाई बिस्तारै टुक्राउने काम गर्छन् । यो सम्पूर्ण पाचन प्रक्रिया पूरा हुन करिब ४५ घण्टा लाग्छ। यस लामो र विशिष्ट पाचन प्रक्रियाको क्रममा, होआट्जिनले डकारमार्फत ग्यासहरू बाहिर निकाल्छ, जसले गोबरजस्तो गन्ध उत्पन्न गर्छ।
संसारकै सबैभन्दा गन्हाउने यो चराको गोबरजस्तो गन्ध यति तीव्र हुन्छ कि यसको सिकार गर्न आउने मानिसहरू र अन्य सिकारी जनावरहरूलाई यो गन्धले विकर्षित गराउँछ ।
गतवर्ष वैज्ञानिकहरुले यो चराको जिनोम अध्ययन गरी यसको विकासक्रम तथा वंशावली पत्ता लगाउन खोजे । तर, यसको वंशाणु अरु चरासँग मिलेन । यसबाट के पुष्टि भयो भने होआट्जिन एकदमै फरक र रहस्यमय चरा हो, जुन अझै वैज्ञानिकहरूका लागि अध्ययनको विषय बनेको छ ।


