
झापा, १९ जेठ । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो ।
कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेको पेज टर्नरका कार्यकारी निर्देशक जयराम तिमल्सिनाले बताए ।
साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उहाँको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । उनको शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् ।


