सन्तोष शर्मा
झापा, १३ असार । झापामा हात्तीको आक्रमणबाट ७२ जना मानिसको मृत्यु भएको छ ।



आर्थिक वर्ष २०६७/०६८ देखि २०८१/०८२ को हालसम्म सात जना गैर नेपालीसहित ७२ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका डा. सुमन भलले जानकारी दिनुभयो । सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् ।
चालू आर्थिक वर्ष २०८१/०८२ को साउन महिनादेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्यांक हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ ।
जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा हात्ती आहाल (पोखरी निर्माण), फलफूलका बिरुवा रोपण, गस्ती लगायतका क्रियाकलाप हुँदै आए पनि मानव–हात्ती द्वन्द्व बढिरहेको छ ।
फरेष्ट एक्सन नेपालका डा. लिलानाथ शर्मा विद्युतीय तारवारले मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण नहुने बताउनुहुन्छ । “तारवारले मात्र हात्तीलाई रोक्न÷छेक्न सकिँदैन”, उहाँले भन्नुभयो, “वनमै सुधार जरुरी छ ।”
हात्तीको जैविक मार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण र वनमा सुधार गर्न सके मावन–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।
खानाको खोजीमा जंगलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने उहाँ बताउहुन्छ । वन अतिक्रमणसँगै वन जंगल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको छ ।
हात्तीले मकै मन पराउने भएकाले पनि मकै खेती हुने बेलामा भारतबाट हुल बाँधेर हात्ती आउने गरेको डिभिजन वन कार्यालय झापाका डा. सुमन भलले बताउनुभयो । अन्य समयमा भन्दा मकैको सिजनमा हात्तीको आवागमन बढी हुने उहाँको भनाइ छ ।
२५ वटा हात्तीको मृत्यु
झापामा २०६२ सालयता २५ वटा हात्ती मृत फेला परेका छन् । पछिल्लो समय जिल्लामा हात्तीको मृत्यु हुने क्रम बढेको छ । विगतमा बर्सेनि एक÷दुई वटा हात्ती मृत भेटिने गरेका थिए । तर, केही वर्षयताको मृत्यु हुने क्रम बढेको हो ।

गत आर्थिक वर्ष २०८०/०८१ मा चार वटा हात्ती मृत फेला परेका थिए भने चालू आवमा समेत हालसम्म चार वटा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
साढे नौ करोड राहत
जिल्लाका हात्ती पीडितलाई सरकारले आर्थिक वर्ष २०६८/०६९ देखि चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म रू नौ करोड ६८ लाख ४७ हजार नौ सय दुई राहत स्वरुप प्रदान गरिसकेको छ ।
हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रू १० लाख, घाइतेलाई अधिकतम रू दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षतिको भएको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
जिल्लामा पाँच सय २५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा रहेको डिभिजन वन कार्यालय झापाका डा. सुमन भलले बताउनुभयो ।


