झापा, १५ असार । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियाविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै रनको पहाड खडा गरेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र ५ विकेट गुमाउँदै ४२० रनको विशाल योगफल तयार गर्यो। नेपालका लागि प्रसिद्ध जैसीले उत्कृष्ट शतक प्रहार गर्दै ११४ बलमा १५ चौका र १ छक्का सहित १३२ रन बनाए। उनलाई रौनक श्रीवास्तव (८८ रन) र जोय थापा (५७ रन) ले अर्धशतकीय साथ दिए।



पारीको अन्त्यतिर परिमार्जन यादवले २८ बलमा ४ चौका र ८ छक्काको मद्दतले तुफानी ७१ रन जोडेपछि नेपालले ४०० रन नाघ्न सफल भयो।
अब इन्डोनेसियालाई जितका लागि ४२१ रनको चुनौती छ। नेपालले आफ्नो शानदार ब्याटिङ प्रदर्शन गर्दै प्रतियोगिताको उपाधितर्फ सशक्त अग्रसरता देखाएको छ।


