
टेक्सस, २२ असार । अमेरिका टेक्सस राज्यमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। रोयटर्सका अनुसार ज्यान गुमाउनेमा १५ बालबालिका पनि रहेका छन्। यस बाढीमा फसेका ८५० जनाको सकुशल उद्धार गरिएको छ।
केरभिल सहरका प्रबन्धक डाल्टन राइसले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा २७ युवतीसहित धेरै जना अझै बेपत्ता रहेको जानकारी दिएका छन्। स्थानीय तथा संघीय निकाय उनीहरूको खोजीमा जुटिरहेका छन्।

संयुक्त उद्धार प्रयासका सन्दर्भमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले लेखेका छन्, “ट्रम्प प्रशासन टेक्ससमा शुक्रबार आएको बाढीपछिको उद्धार कार्यमा राज्य र स्थानीय अधिकारीहरूसँग मिलेर कार्यरत छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएम चाँडै घटनास्थल पुग्ने छन्।”
स्थानीय प्रशासन र आपतकालीन सेवाहरूको संयुक्त प्रयासमा उद्धार कार्य तीव्र पारिएको बताइएको छ। बेपत्ता व्यक्तिहरूको खोजी जारी रहँदा अवस्था अझै चिन्ताजनक रहेको अधिकारीहरूले बताएका छन्।

