
झापा, २७ असार । पाकिस्तानको बलुचिस्तान प्रान्तको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले बसमा यात्रा गरिरहेका नौ जनालाई ओरालेर गोली हानी हत्या गरेका छन् ।
क्वेटाबाट पञ्जाब जाँदै गरेका दुई यात्रुबसलाई लक्षित गरी बिहीबार साँझ यात्रुहरूलाई बसबाट ओरालेर मारिएको घटना भएको हो । बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले नौ जनाको मृत्यु पुष्टि गर्दै मृतकको शव पञ्जाब पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

सरकारी अधिकारीहरूका अनुसार हमला बन्दुकधारीहरूले घेरेको क्षेत्रमा भएको थियो । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले कलात, मास्तुङ र झोबमा आतंककारी आक्रमण भएको पुष्टि गर्दै भन्नुभयो, “सुरक्षा बलले तीनै स्थानमा तुरुन्त कारबाही गरेको छ। हामी जनताको सुरक्षाका लागि पूर्ण रूपमा सतर्क छौं ।”

