
काठमाडौँ, असोज २७ — बिराटनगर किंग्स र कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा जारी ‘ड्रिम टू प्ले’ टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको चौथो दिन ईलाम र मोरङले आ–आफ्ना खेलमा विजयी भएका छन्। मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न दुई खेलमा ईलामले उदयपुरलाई र मोरङले झापालाई पराजित गरेका हुन्।
दिनको पहिलो खेलमा ईलामले उदयपुरलाई ७ रनले हरायो। पहिले ब्याटिङ गर्दै ईलामले ९ विकेट गुमाएर ९७ रन बनायो। जवाफमा उदयपुरले ९० रन मात्र बनाउन सक्यो। ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका श्याम नारायण यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो खेलमा मोरङले झापालाई ८ विकेटले पराजित गर्यो। झापाले १८.३ ओभरमा सबै विकेट गुमाएर ७९ रन बनायो। मोरङका सन्तोष कुमार चौधरीले ४३ बलमा ३४ रन बनाउँदै तीन चौका प्रहार गरे र ‘प्लेयर अफ द म्याच’ बने।
कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र ईलाम जिल्लाका अण्डर–२३ टिमहरूबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताले उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरिरहेको आयोजकको विश्वास छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू बिराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा छनोट हुनेछन्। उनीहरूले टिमसँग अभ्यास गर्ने, कौशल विकास गर्ने र व्यवसायिक क्रिकेट जीवनतर्फ अघि बढ्ने अवसर पाउनेछन्। डेभलपमेन्ट स्क्वाडबाट एक खेलाडीलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा मुख्य टिममा स्थान दिने योजना पनि रहेको छ।
प्रतियोगिता अन्तर्गत भोलि बिहान ईलाम र मोरङ तथा दिउँसो सुनसरी र झापा भिड्ने कार्यक्रम रहेको छ।

