
झापा, २८ मंसिर । झापा जिल्लाको कनकाई नगरपालिका–१ नमुना टोलस्थित भित्री सडकखण्डमा आज दिउँसो पराल लोड गरिएको ट्रयाक्टरमा आगलागी भएको छ।
आज दिउँसो १२ः१५ बजे नमुना चोकबाट हाईवे निस्किँदै गरेको मे १ त ४४५५ नम्बरको ट्रयाक्टर बिजुलीको पोलमा रहेको तारमा छोइएपछि आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो १२ः३० बजे नियन्त्रणमा लिन सकिएको थियो ।

आगलागीबाट ट्रयाक्टरमा लोड गरिएको पराल पूर्णरूपमा जलेको छ भने ट्रयाक्टरको डाला र चालक बस्ने इन्जिनको भाग आंशिक रूपमा क्षति भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब रु ६० हजार बराबरको क्षति भएको छ ।
ट्रयाक्टर चालक कनकाई नगरपालिका–७ का ३३ वर्षीय गणेश खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकसँग आवश्यक कागजपत्र रहेको र मापसे परीक्षणमा नकारात्मक परिणाम आएको प्रहरीले स्पष्ट पारेको छ । यस घटनामा मानविय वा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

