
झापा, २८ मङ्सिर । झापामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । शिवसताक्षि नगरपालिका–२ इन्द्रेणी चोकमा आफ्नै बारीमा रहेको पिपलको रुखमा घाँस काट्ने क्रममा ७१ वर्षीय आनन्दहाङ लिम्बू रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि दमक अस्पतालमा ल्याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शव हाल दमक अस्पतालमै राखिएको छ ।

यसअघि, भद्रपुर नगरपालिका–४ लुरुङ चोकमा मङ्सिर २७ गते दिउँसो १ बजे ४२ वर्षीय देवेन्द्र देवाङ आफ्नै घरको शौचालयमा पस्ने क्रममा लडी घाइते भएका थिए । छारे रोगका बिरामी रहेका देवाङलाई तत्कालै प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो ।
तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि पठाइएको थियो । मङ्सिर २८ गते दिउँसो १२ः३५ बजे पोष्टमार्टमपछि शव उनकी श्रीमती सुक माया लिम्बुले बुझेर लगेको प्रहरीले जनाएको छ ।

