
बिर्तामोड, १६ पुस । झापाको बिर्तामोडमा आज सम्पन्न स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निदि माध्यमिक विद्यालयले जितेको छ ।
बिर्तामोड नगरपालिकाद्वारा आयोजना प्रतियोगितामा बिर्तामोड–२ स्थित निदि माविले १७ स्वर्ण, ८ रजत र ५ कास्य जितेर उपाधि हात पारेको हो । वडा नम्बर १० मा रहेको महेन्द्रज्योति माध्यमिक विद्यालयले ७ स्वर्ण, ५ रजत र ४ कास्यसहित दोस्रो भएको छ भने वडा नम्बर ३ को महेन्द्ररत्न माध्यमिक विद्यालय तेस्रो भएको छ । महेन्द्ररत्नले ६ स्वर्ण, ९ रजत र ७ कास्य प्राप्त गरेको छ ।
विजेताहरु प्रथम, द्वितीय र तृतीयले क्रमश १५ हजार, १२ हजार र १० हजार रुपैयाँसहित प्रमाण पत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् । नगरपालिकाले यस वर्षदेखि विजेताको लागि १८ तोला चाँदी जडित रनिङ शिल्डको समेत व्यवस्था गरेको थियो ।
विजेता विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले पुरस्कार वितरण गर्नु भयो । बिर्तामोड नगर क्षेत्रका ३९ वटा विद्यालयका दुई हजार भन्दा बढी विद्यार्थीले प्रतियोगितामा कराते, उस्सु, तेक्वान्दो, एथलेटिक्स, भलिबल र कवड्डी विधामा प्रतिस्पर्धा गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

