
शिवसताक्षी, २४ पुस । शिवसताक्षी नगरपालिकाको आयोजनामा झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ हुने भएको छ ।
दूधे रंगशालामा हुने प्रतियोगिता आगामी माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिकाका अनुसार प्रतियोगितामा झापा जिल्लाका १५ वटै स्थानीय तहका कर्मचारी टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्देश्य पालिकाका कर्मचारीहरूबीच आपसी सद्भाव, सुमधुर सम्बन्ध र भाइचारा विकास गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीको पुरस्कार राशीका विषयमा छलफल भइरहेको योजना अधिकृत तथा खेल संयोजक प्रकाश चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै, प्रतियोगिताअन्तर्गत म्यान अफ दी म्याच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक तथा सर्वोत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
वर्षेनी आयोजना हुँदै आएको यस प्रतियोगिताले कर्मचारीहरूबीचको आपसी सम्बन्ध मजबुत बनाउने विश्वास आयोजकको छ ।
गत वर्ष सम्पन्न प्रतियोगितामा शिवसताक्षी नगरपालिकाले कमल गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ ।

