झापा, २३ साउन । बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लाका साना नदी तथा खोलामा बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको सूचनाअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, बझाङ र आसपासका जिल्लामा रहेका साना नदी तथा खोलामा बहाब बढ्ने अनुमान गरिएको हो ।

महाशाखाका अनुसार हाल कोसी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीहरूमा बहाब सतर्कता तहभन्दा तल रहेको छ । त्यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको जलसतह पनि हाल सतर्कता तहभन्दा तल नै रहेको महाशाखाले जनाएको छ ।
तर, आज पहाडी तथा आसपासका क्षेत्रमा वर्षाका कारण साना नदी तथा खोलामा पानीको बहाब अचानक बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।



