
झापा, २५ पुस । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले उम्मेदवार घोषणा गरेको छ ।
तीन दल मिलेको बनेको ‘राष्ट्रिय अग्रगामी गठबन्धन’ले बिहीबार झापाका पाँचै वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरेको हो । गठबन्धनको बिर्तामोडमा उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरी पाँच वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तोकेको हो ।
गठबन्धनले झापा क्षेत्र नं. १ मा बासुदेव सिंजाली मगर, निर्वाचन क्षेत्र नं. २ मा तिलबहादुर राई, क्षेत्र नं. ३ मा उदित नारायण राजवंशी, बिनिता राजवंशी, गणेश इङ्नाम, निर्वाचन क्षेत्र नं. ४ मा त्रिनारायण राजवंशी र निर्वाचन क्षेत्र नं. ५ मा बुद्धि न्यौपानेलाई उम्मेदवार तोकेको छ ।
उम्मेदवार घोषणा कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, पार्टीका केन्द्रीय उपाध्यक्षद्वय त्रिनारायण राजवंशी, मित्र लिङ्देन, केन्द्रीय महासचिव लासिम पालुङ्वा, संयुक्त पहिचानवादी मोर्चाका सङ्गठन विभागका एलबी पालुङ्वा लगायतले पहिचानको आन्दोलन र विचारलाई स्थापित गर्न आगामी निर्वाचनमा जाँतो चुनाव चिह्नमा मतदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
गठबन्धनले जिल्लाको चुनावी अभियान बलियो बनाउन ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा डोमालाल राजवंशी, सहसंयोजक समर राई, हरिनारायण चौधरी, सचिव तीर्थ राई र सहसचिव दिनेश माबो रहनुभएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन क्रममा बिर्तामोडमा सहादत प्राप्त गरेका दिनेश राजवंशीको परिवारलाई नगद सहयोगसहित सम्मान गरिएको थियो ।

