
बिर्तामोड, २६ पुस । झापाको बिर्तामोडस्थित नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको पाँचौं साधारणसभा सम्पन्न भएको छ ।
आज बिर्तामोड–४ सहकारी संस्थाले सञ्चालन गर्न लागेको नागरिक अस्पताल परिसरमा संस्थाको पाँचौं साधारणसभा सम्पन्न भएको हो । साधारणसभा संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षता तथा मोरङ सहकारी अस्पतालका कार्यकारी निर्देशक विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि अधिकारीले नाफाभन्दा पनि सेवाभावले सहकारी संस्थाले अस्पताल सञ्चालन गर्नु सुखद् भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र वृहत क्षेत्र भएको बताउनुहुँदै कुन उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको सो कुरा महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले अस्पताल सञ्चालनका लागि आवश्यक र महत्वपूर्ण सुझावसमेत दिनुभयो ।
साधारणसभामा मन्तव्य राख्नुहुँदै नागरिक स्वास्थ्य सहकारी संस्थाका संस्थापक अध्यक्ष बलराम कार्कीले २०७७ सालमा केही मानिसले सेवा भावका हिसाबले संस्था दर्ता गरेर अस्पताल सञ्चालनको लक्ष्य लिएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका पूर्व सचिव बालरोग रोग विशेषज्ञ डा. टंकप्रसाद बाराकोटीले साधारणसभाको सफलताको कामना गर्दै असल उद्देश्यले संस्था स्थापना भएकाले पछिल्लो समय संस्थामा आबद्ध भएको उल्लेख गर्नुभयो ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा. मुक्ति खनालले अस्पताल सञ्चालनमा तीन वटा मुख्य रहेको बताउनुभयो । उहाँले सहकारी भनेपछि मान्छेले सुन्नै नचाहने, स्वास्थ क्षेत्रमा धेरै चुनैती र खुल्ला प्रतिस्पर्धाका कारण अस्पताल सञ्चालनमा चुनौती रहेको बताउनुभयो । नाफा भन्दा पनि सेवालाई मुलमन्त्र बनाएकाले अस्पताल सफल बन्ने उहाँको भनाइ छ ।
संस्थाका प्रमुख सल्लाहकार राजकुमार पोखरेलले संस्थाले सञ्चालन गर्ने अस्पताल सस्तो र गुणस्तरीय सेवा हुनुपर्ने जोड दिनुहुँदै हरेक नागरिकको स्वास्थ्यमा पहुँच पुग्ने अस्पताल निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
साधारणसभामा संस्थाका अध्यक्ष युवराज दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आगामी २०८३ वैशाखमा अस्पताल सञ्चालन गर्न ३ करोड आवश्यक रहेको बताउनुभयो । “हाम्रो अस्पताल हामी आफैँ बनाउछौं भन्ने उद्देश्यले सहकारी अस्पताल सञ्चालनको अन्तिम तयारीमा जुटेका छौं”, अध्यक्ष दाहालले भन्नुभयो, “अस्पताललाई नमूना अस्पताल बनाउन सबैको सहयोग–सुझाव राखेका छौं ।”
साधारण सभामा अध्यक्ष दाहालले ज्येष्ठ नागरिक हेरचाह केन्द्र सुरुवात गर्ने, शेयर रकम वर्गीकरण गर्ने, शेयर सदस्य, सदस्य आश्रीत परिवार र सर्वसाधरणलाई दिइने सेवा सुविधा तथा छुट सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्ने लगायतका १३ वटा प्रस्ताव पेश गर्नुभएको थियो । संस्थाको कोषाध्यक्ष जीवनकुमार खड्काले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अस्पताल निर्माण कार्य अघि बढाउने क्रममा संस्थाले प्रतिव्यक्ति न्यूनतम १ लाख २५ हजारदेखि अधिकतम ५ लाख २५ हजार संकलन गर्न शुरु गरिएको थियो । संस्थामा २०८२ असार मसान्तसम्म २ सय ७४ जना शेयर सदस्य रहेका छन् । उनीहरुबाट शेयर वापत ३ करोड ७१ लाख ५३ हजार संकलन भएको छ ।
संस्थाका कोषाध्यक्ष जीवनकुमार खड्काले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव रबिन्द्र भट्टराईलेले गर्नुभएको थियो ।
संस्थाले सहकारी अस्पताल निर्माण गरी सञ्चालन गर्ने उद्देश्य राखेर २०७७ सालमा बिर्तामोड–४ हर्कलाल मार्ग करिब ११ कट्ठा जग्गा २५ वर्षका लागि भाडामा लिने सम्झौता गरी निर्माण कार्यको सुरुवात गरेको थियो ।

