
चितवन, २६ पौष । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं राष्ट्रिय परिषदको केन्द्रीय पार्षद भेला चितवन जिल्लाको भरतपुरमा सुरु भएको छ ।
केन्द्रीय समितिको आयोजना र तमु विद्यार्थी छोंज धीं चितवन जिल्लाको व्यवस्थापनमा शनिबार भरतपुर महानगर पालिका वडा नं. २ तिनखालेस्थित महाबौद्ध गुम्बा परिसरमा सुरु भएको हो । देशैभरिका ५४ भन्दा बढी जिल्लाका जिल्ला प्रतिनिधिहरु, प्रदेश र केन्द्रीय समिति पदाधिकारी सदस्यहरुको सहभागी रहेको पार्षद भेला २६ र २७ गते चितवन जिल्लामा जारी छ ।
तमु विद्यार्थी छोंज धीं राष्ट्रिय परिषद अध्यक्ष पवन गुरुङको अध्यक्षतामा औपचारिक कार्यक्रमको उद्घाटन सम्पन्न भएको कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष धन मान गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, पूर्व विद्यार्थी अध्यक्ष एवम् तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय उपाध्यक्ष तथा युवा विद्यार्थी विभाग प्रमुख दिल गुरुङ, तमु युवा छोंज धीं केन्द्रीय अध्यक्ष तोरन गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमाल, तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहाकार चन्द्र मान गुरुङ, पदम गुरुङ, तमुस्यो ह्युल छोंज धीं केन्द्रीय उपाध्यक्ष पार्वती गुरुङ, लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वर्गीय अञ्जली गुरुङको स्मृतिमा अक्षयकोष स्थापना गरी ५ जना छात्रा छात्रलाई छात्रवृति प्रदान गरिएको थियो । देशैभरिबाट उत्कृष्ट जिल्ला बन्दै तनहुँ जिल्लालाई सम्मान गरिएको छ ।
विद्यार्थी भेलामा भोलि २७ गते प्रशिक्षण कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा ‘समसामायिक राजनीतिक परिस्थिति, जेन जी विद्रोह र संगठानिक विधि र पद्धति’ विषयमा तमू ह्युल धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय उपाध्यक्ष दिल गुरुङले प्रशिक्षण गर्नुहुनेछ ।
त्यस्तै, तमू जातिको भाषा, धर्म, संस्कार र संस्कृतिका विषयमा नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका संस्थापक अध्यक्ष एवम् खेमा लिपि अभियन्ता भीम गुरुङले प्रशिक्षण गर्नुहुनेछ भने सूचना प्रविधि र संस्कृति प्रवर्द्धन तथा संगठनात्मक विकासमा यसको प्रयोगका विषयमा नेपाल तमु विद्यार्थी छोंज धीं आईटी प्रशिक्षक शैक्षिक विभाग प्रमुख बुध राम गुरुङले प्रशिक्षण गर्नुहुने आयोजकले जनाएको छ ।
तमू विद्यार्थीहरुको एकमात्र राष्ट्रिय स्तरको साझा संस्था नेपाल तमू विद्यार्थी छोंज धीं को स्थापना २०५२ मा भएको थियो । बुटवलमा सम्पन्न प्रथम सम्मेलनबाट भीम गुरुङको अध्यक्षतामा नेपाल तमु विद्यार्थी छोंज धीं साझा सामाजिक संगठनका रुपमा स्थापना गरिएको हो भने संगठन विद्यार्थीहरुको हकहित, अधिकार र संस्कार संस्कृति संरक्षण गर्ने मुल उद्देश्यका साथ स्थापना गरिएको थियो ।

