
झापा, २ माघ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकका मार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोकिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।
गएराती बिर्तामोड–५ सिटी सेन्टर नजिकै ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मगर र उनकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा मगरको मृत्यु भएको प्रवक्ता खड्काले बताउनुभयो । दुर्घटनापछि मोटरसाइकलमा आफैँ आगलागी भई पूर्ण रूपमा जलेको जलेको थियो भने आगो बिर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ भने ट्रक चालक भने दुर्घटनापछि फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

