
झापा, ३ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर नेकपाका केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई उम्मेदवारको टिकट दिएका हुन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

तामाङले झापा–५ को टिकट आफूले पाएको बताउनुभयो । संयोजक प्रचण्डले जितको शुभकामनासहित आफूलाई टिकट प्रदान गरेको उहाँले सुनाउनुभयो । ‘प्रचण्ड कमरेडले झापा–५ को टिकट दिनुभयो’, तामाङले भन्नुभयो, ‘जितको अग्रिम शुभकामनासहित जसरी पनि जित्नुपर्छ भन्नुभएको छ ।’
माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ प्रखर वक्ताका रुपमा चिनिनुहुन्छ । उहाँ युवाहरु माझ लोकप्रिय पनि हुनुहुन्छ । झापा–५ एमाले अध्यक्ष केपी ओलीको परम्परागत निर्वाचन क्षेत्र हो । सो क्षेत्रबाट ओली ०४८ सालदेखि लगातार चुनाव लड्दै आउनुभएको छ ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनबाहेक सबैमा उहाँले जित्दै आउनुभएको छ । यसपटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पनि झापा–५ बाट उठ्ने चर्चाले सबैको ध्यान त्यतातिर खिचिएको छ ।
तामाङले आफूलाई ‘स्थानीय उम्मेदवार’ को रूपमा प्रस्तुत गर्दै चुनावी अभियान शुरू भएको घोषणा गर्नुभएको छ । पूर्वप्रधानमन्त्री र भावी प्रधानमन्त्री भनिएकाहरूको सम्भावित भिडन्तको चर्चाका बीच उहाँले आफू यसै माटोमा जन्मी–हुर्केको र जनताको हरेक सुखदुःखमा साथ रहेको दाबी गर्नुभयो ।
शुभेच्छुकहरूले अन्य क्षेत्रबाट चुनाव लड्न दिएको सुझावलाई नकार्दै तामाङले स्थानीय मतदातासँग आफ्नो अटुट सम्बन्ध रहेकाले झापा ५ नै रोजेको स्पष्ट पार्नुभएको छ ।
झापा जिल्लाको इञ्चार्ज भएरसमेत पार्टी काम गरिसक्नुभएका तामाङले आफू स्थानीय विकास र संकटमा सधैँ जनताको साथमा रहेकाले चुनावी अभियानमा कुनै कठिननाइ नहुने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

