
शिवसताक्षी, १२ माघ । शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न दुई क्वाटर फाइनल खेलबाट कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेका छन्।
पहिलो क्वाटर फाइनल खेलमा कनकाई नगरपालिकाले कचनकवल गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। कनकाईका लागि जर्सी नम्बर ३ का मनिष भट्टराईले खेलको २६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने जर्सी नम्बर ७ का रुचन लिम्बुले ५६औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका कनकाईका विशाल थेवे ‘म्यान अफ दी म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो क्वाटर फाइनल खेलमा गौरीगञ्ज गाउँपालिकाले मेचीनगर नगरपालिकालाई ३–१ गोलअन्तरले हराउँदै सेमीफाइनलमा स्थान बनाएको छ। गौरीगञ्जका जर्सी नम्बर ७ का रविन्द्र राईले शानदार ह्याट्रिक गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उनले खेलको ३०औँ, ४२औँ र ४५औँ मिनेटमा लगातार गोल गर्दै मेचीनगरलाई दबाबमा राखेका थिए। मेचीनगरका तर्फबाट भने जर्सी नम्बर ७ का धिराज राजवंशीले खेलको २६औँ मिनेटमा एक गोल फर्काएका थिए। उत्कृष्ट प्रदर्शनकै आधारमा गौरीगञ्जका रविन्द्र राई ‘म्यान अफ दी म्याच’ घोषित भए।
आयोजक शिवसताक्षी नगरपालिकाका अनुसार भोलि मंगलबार पहिलो सेमीफाइनल खेल दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबीच हुने छ।
प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँ र उपविजेता टोलीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

