
झापा, १३ माघ । शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाइनलमा दमक नगरपालिका र कनकाई नगरपालिका आमनेसामने हुने भएका छन्। मंगलबार सम्पन्न दुई सेमीफाइनल खेलबाट दमक र कनकाई फाइनलमा प्रवेश गर्दै उपाधिका लागि भिड्ने भएका हुन्।
पहिलो सेमीफाइनल खेलमा दमक नगरपालिकाले बाह्रदशी गाउँपालिकालाई ४–० गोलअन्तरले पराजित गर्दै सहज जितसहित फाइनल यात्रा तय गरेको छ। दमकका लागि जर्सी नम्बर ८ का दिपेन्द्र घिमिरेले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। त्यस्तै जर्सी नम्बर ११ का सुजन राई र जर्सी नम्बर १३ का रोशन तामाङले समान एक–एक गोल थपे। निर्धारित समयमा बाह्रदशीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा गोलरहित रह्यो। उत्कृष्ट प्रदर्शन गरेका दमकका सुजन राई ‘म्यान अफ दी म्याच’ घोषित भए।


त्यस्तै, दोस्रो सेमीफाइनल खेलमा कनकाई नगरपालिकाले गौरीगञ्ज गाउँपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा कनकाईका जर्सी नम्बर ७ का रुचन लिम्बुले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। खेलभर दबाब सिर्जना गरे पनि गौरीगञ्जले पाएका अवसर सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्नुपर्यो। खेलका उत्कृष्ट खेलाडी कनकाईका रुचन लिम्बु ‘म्यान अफ दी म्याच’ घोषित भए।
आयोजक शिवसताक्षी नगरपालिकाका अनुसार फाइनल खेल भोलि दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँ र उपविजेता टोलीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

