
झापा, १६ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन फागुन २१ गते सवारीसाधन सञ्चालन व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था गरेको जनाएको छ।
सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०६२ को दफा ५ को खण्ड (त), दफा ९ र दफा ११ समेतका आधारमा आयोगले दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीको ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने तथा असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार दूरसञ्चार सेवा, खानेपानी, विद्युत् र ढल मर्मतका सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन ९चिकित्सक र स्वास्थ्यकर्मीको आवतजावतका लागि० अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन ९विमानस्थल–घर–होटल आवतजावत०हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता तथा एक सहयोगी बोकेका सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
त्यस्तै,नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहकले प्रयोग गर्ने सवारीसाधन (उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानव अधिकार आयोगका अनुगमन सवारीसाधन तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पास आवश्यक नपर्ने आयोगले जनाएको छ ।
साथै, आयोगले निर्वाचन अवधिभर सवारी आवागमन व्यवस्थापन सहज बनाउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर तथा ललितपुरका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क आयोग परिसरमै स्थापना गरिएको जनाएको छ। सोही डेस्कबाट आवश्यक सवारी पास जारी भइरहेको जानकारी पनि दिइएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

