
बिर्तामोड, १७ फागुन । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–२ का उम्मेद्वार सरिता प्रसाईले देश बनाउने भविष्यका योजना हेरेर सुझबुझका साथ मतदान गर्न आम मतदाता समक्ष अपिल गर्नुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस पूर्व केन्द्रीय सदस्य प्रसाईले सुझबुझका साथ कांग्रेसलाई मतदान गर्न अपिल गर्नुभएको हो ।

उहाँले राजनीतिक योगदान, नीति, सिद्धान्त, विचार र देश बनाउने खाका प्रस्तुत गरेर विचारको राजनीति गर्न सुझाव दिनुभयो । जेन–जी विद्रोहको पृष्ठभूमि, जेन–जी पुस्तालाई बद्नाम बनाउन आन्दोलनमा भएको घुसपैठ र त्यसयता देखिएका राजनीतिक संकेतले नेपाल भू–राजनीतिक संकटमा फस्ने जोखिम रहेकोतर्फ सचेत रहन आग्रह गर्दै नेतृ प्रसाईले विगतदेखि वर्तमानसम्म देशलाई संकट परेको बेलामा समाधान गर्नसक्ने मध्यमार्गी पार्टी नेपाली कांग्रेसमात्रै रहेकोले फागुन २१ गते हुने निर्वाचनबाट कांग्रेसलाई ठूलो शक्ति बनाउन आह्वान गर्नुभयो ।
मुलुकको समृद्धिका लागि स्वास्थ्य, सञ्चार, शिक्षा, अर्थ नीति कस्तो बनाउने भन्ने बहस गर्न आग्रह गर्दै उहाँले कांग्रेसले यस विषयमा स्पष्ट नीति अघि सारेको बताउनुभयो । पार्टी बदलेर देश बदल्ने यात्रामा नयाँ नेतृत्व, नीति र विचार लिएर आएको कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै उहाँले जेनजी विद्रोहको भावना बमोजिम शुसासन कायम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापा, समानुपातिक उम्मेद्वारहरु सुशिला ढकाल आचार्य, उमा शिवाकोटी, मनुमाया विश्वकर्मासहित विभिन्न तहका कार्यकर्ता एवं शुभचिन्तकहरुको उल्लेख्य सहभागिता थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

