
झापा, १७ पुस । सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण जोखिम बढेकाले ती देशहरूमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति हाललाई स्थगित गरिएको जानकारी दिए । यसअघि वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्दै आएको थियो ।

परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख (सहसचिव) रामकाजी खड्काले दिएको जानकारी अनुसार हाल मध्यपूर्वका विभिन्न देशमा गरी करिब १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिकहरू रहेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मन्त्रालयले यसअघि नै ट्राभल एड्भाइजरी जारी गरिसकेको र सम्बन्धित दूतावासमार्फत नेपालीहरूलाई सुरक्षित रहन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिसकिएको जानकारी दिए । राजदूत र नियोग प्रमुखहरूसँग निरन्तर समन्वय गर्न ह्वाट्सएप ग्रुप बनाएर चौबीसै घण्टा अपडेट लिने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

