
इनरुवा, २१ चैत । सुनसरीमा लागुऔषध नियन्त्रणका लागि तीन महिने अभियान सुरु गरिएको छ। बढ्दो लागुऔषध कारोबार तथा सेवनलाई ध्यानमा राख्दै जिल्लाका सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय बैठक गरी अभियान थालिएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सुरक्षा निकाय तथा सरोकारवाला निकायको समन्वय बैठकले लागुऔषध नियन्त्रणसम्बन्धी तीनमहिने अभियान सफल बनाउन जिल्लास्थित विद्यालय, शैक्षिक संस्था, कलेज तथा पुनस्र्थापना केन्द्रहरूले सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बैठकले लागुऔषध ओसारपसार तथा सेवन नियन्त्रण गर्न गठित दुव्र्यसनविरुद्धको अभियान फ्यान क्लबसँग समन्वय गरी आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि सबैले आफ्नो क्षेत्रबाट सुरक्षा निकायलाई सहयोग गर्ने सहमति भएको छ।
बैठकले जिल्ला तथा स्थानीय तहको सहकार्यमा आमा समूह, युवा क्लब तथा बाल क्लबजस्ता संघसंस्थालाई सहभागी गराई सचेतना कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि स्थानीय तहलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी जिल्ला तथा स्थानीय तहमा सम्पूर्ण सरोकारवाला संघसंस्था, पुनस्र्थापना केन्द्र र शैक्षिक संस्थाको समन्वयमा बृहत् जनजागरण कार्यक्रम सञ्चालन गर्ने, सन्देशमूलक प्रचार–प्रसार सामग्री निर्माण गर्ने तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ।
लागुऔषध प्रयोगकर्ताको पहिचान, उपचार र पुनस्र्थापना कार्यलाई निरन्तरता दिने, पुनस्र्थापना केन्द्रको नियमित अनुगमन तथा सुधारका लागि निर्देशन दिने, अपराधसम्बन्धी सूचना नियमित सङ्कलन तथा आदान–प्रदान गर्ने तथा सार्वजनिक स्थल, बसपार्क, कलेज, सार्वजनिक पार्क र विद्यालय प्राङ्गणमा चेतनामूलक सन्देश प्रचार–प्रसार गर्ने निर्णय पनि बैठकले गरेको छ।
विभिन्न स्थानमा भएको गाँजा खेती पहिचान गरी फडानीका लागि कार्यसूची तयार पारेर अभियानलाई तीव्रता दिने निर्णयसमेत गरिएको छ।
बैठकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने र नरेन्द्र परियार, प्रहरी उपरीक्षक केशवकुमार थेवे, सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निरीक्षक विमल घिमिरे, भगवती दल गण सुनसरीका सेनानी रूपक राई, कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरप्रसाद दङ्गाल, अधिकारकर्मी जयकृष्ण यादव, रमेश भट्टराई, चन्द्र बराल, बेलाल अन्सारीलगायतको उपस्थिति रहेको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


