
झापा, २० वैशाख । कोशीका आन्तरिक मामिला राज्यमन्त्री उमाकान्त गौतमले झापाको कोटीहवन क्षेत्रमा रहेका धार्मिक तथा थर, गोत्रीय संरचनाको संरक्षणमा प्रदेश सरकार चनाखो , सचेत र प्रतिबद्ध रहेको बताएका छन् । गौतम समाज झापा केन्द्रीय समितिले आयोजना गरेको श्रीमद्भागवत महोत्सवको उद्घाटन गर्दै राज्यमन्त्री गौतमले कोटीहवन क्षेत्र ऐतिहासिक धार्मिक क्षेत्र भएकोले यसको संरक्षण संघ, प्रदेश र स्थानीय सरकार साझा दायित्व भएको स्पष्ट पारे ।
“अहिले डोजर आतंक मच्चाइएको छ, यहाँ पनि डोजर चल्ने हावादारी हल्ला चलेको सुनेको छु, यो हल्लामा कुनै सत्यता छैन” उनले भने,” यो ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्र हो, यहाँ डोजर चल्ने कुरा कसैले चलाएको लहडको हल्ला हो, यसमा सत्यता छैन, यस्तो हुन दिँइदैन ।” बालेन सरकारले अप्रत्याशित र अस्वभाविक डोजर अभियान चलाएपछि अहिले देसैभर संशय छाएको छ । कोटीहवनमा रहेको मुख्य मन्दिर बाहेक अन्य संरचनामा डोजर चल्ने हल्ला चलेको परिप्रेक्षमा सम्बन्धित प्रदेश राज्यमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।
कनकाईमाईको पूर्वीतटमा रहेको कोटीहवनमा विभिन्न मन्दिर, गुम्बासहित २७ थर गोत्रीय बन्धुहरुका ५० औँ बहुउपयोगी भवनहरु छन् । कनकाई नगरपालिका – ४ मा पर्ने सो क्षेत्रमा योगी नरहरिनाथले अखण्ड दीपप्रज्वलन गरी धार्मिक अनुष्ठान सम्पन्न गरेसँगै सो क्षेत्रको धार्मिक महत्व बढेको हो । कोटीहवन धार्मिक क्षेत्र अहिले धेरैको अध्ययन र आकर्षणको केन्द्र बनेको छ । राज्यमन्त्री गौतमले कोटीहवनको संरक्षण सरकार र निश्चित जाति गोत्रको नभई समाजको साझा दायित्व भएको बताए ।
आन्तरिक ममिला राज्यमन्त्री गौतमले यस क्षेत्रको थप विकास र सौन्दर्यकरणका लागि एकीकृत गुरुयोजना पेस गर्न अनुरोध गर्दै उपयुक्त गुरुयोजना पेस भए प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । वैशाख २५ गतेसम्म चल्ने सो महोत्सवको सफलताको शुभेच्छा प्रकट गर्दै राज्यमन्त्री गौतमले व्यक्तिगत रूपमा सहयोग गर्ने आश्वासन दिए । भने, ” म महोत्सवको सफलताको शुभेच्छा मात्रै व्यक्त गर्दिनँ, व्यक्तिगत रूपमा सहयोग गर्न प्रतिबद्ध छु ।
गौतम समाजले राष्ट्र शान्ति, वंशोद्धार, ५१ लाख अक्षयकोष तथा विभिन्न सामाजिक कार्यका लागि आर्थिक स्रोत जुटाउने लक्ष्य राखेर श्रीमद्भागवत महोत्सवको आयोजना गरेको समाजका कोषाध्यक्ष जयनारायण गौतमले बताए । अहिले कोषमा २८ लाख रहेको उनले बताए ।
समाजले कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार तथा सम्मान, गुरुकुलका विद्यार्थीलाई आर्थिक सहयोग, वार्षिक बटुक सहभोज, ज्येष्ठ बन्धु सम्मान, औषधोपचार खर्च, समाज आबद्ध निम्न वर्गीय परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउँदै आएको गौतम समाज झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



