
झापा, १७ बैशाख । इलामको सूर्योदय नगरपालिकाले झापाको अर्जुनधारा नगरपालिकालाई दमकल (बारुण यन्त्र) प्रदान गरेको छ ।
आज बैशाख १७ गते बिहीबार एक कार्यक्रमका बीच सूर्योदय नगरपालिकाका उपप्रमुख एवम् कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेलाई दमकलको चाबी हस्तान्तर गर्नुभयो ।
“हाम्रो सहयोगले कतैको विपद व्यवस्थापनमा सहज हुन्छ भने किन नगर्ने भन्ने सोचका साथ दमकल प्रदान गरेका हौं”, दमकल हस्तान्तरण कार्यक्रममा कार्यवाहक नगरप्रमुख बरालले नगरमा दुई वटा दमकल रहेको बताउनुहुँदै भन्नुभयो, “यो हाम्रो सम्बन्ध विकास पनि हो ।” निवर्तमान नगरप्रमुखको सोच, नगरको कार्यपालिकाको सहमतिबाटै दमकल हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै अर्जुनधारा नगरपालिकाका नगरप्रमुख तामाङले अर्जुनधारामा दमकल अतिआवश्वक रहेको बताउनुभयो । उहाँले दमकल प्रदान गरेकोमा सूर्योदय नगरपालिकालाई धन्यावाद ज्ञापन गर्दै प्राप्त दमकलले अर्जुनधारासहित छिमेकी पालिका बुद्धशान्ति, कनकाई, बिर्तामोड, मेचीनगर क्षेत्रमा भएको विपद् व्यवस्थापनमा सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेल, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला, जनप्रतिनिधिहरु, अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको अर्जुनधारा नगरपालिकाका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



