
झापा, २३ जेठ । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुल क्षेत्रमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
शुक्रबार साँझ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर नगरपालिका–१० निवासी ३२ वर्षीय सुरेन्द्र गुरुङलाई शंकाको आधारमा चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा गुरुङले बोकेको छाताको डन्टीभित्र प्लास्टिकको पोकोमा लुकाई–छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल प्लास्टिकबाहेक ३ ग्राम १२० मिलिग्राम रहेको छ ।
लागुऔषधसहित पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


