मोरङ, ७ असार । मोरङको विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकले खुकुरी प्रहार गर्दा तीन जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार प्रहार गर्दा उनीहरु घाइते भएका हुन् ।
प्रहरीका अनुसार कार्कीलाई ‘साथीभाइ नेपाल सुधार गृह’ काठमाडौं पठाउने तयारी भइरहेका बेला आइतबार दिउँसो करिब ३ः३० बजे उनले आफू बसेको कोठा थुनेर आत्महत्याको प्रयास गरेका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि सिआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
सुधार गृहका प्रतिनिधि, आफन्त तथा प्रहरी टोलीले कार्कीलाई सम्झाइ–बुझाइ गरी बाहिर ल्याउने प्रयास गरिरहेका बेला उनले बेडमुनि लुकाएर राखेको खुकुरी झिकेर अचानक आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट भोजराज रेग्मी, हिमाल घिमिरे र सन्तोष सापकोटा घाइते भएका छन् । उनीहरूको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठ तथा वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बेनु कार्की नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


