झापा, ८ असार । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिएको बर्ड फ्लु नियन्त्रणबाहिर जाँदै गर्दा ललितपुरस्थित जावलाखेल सदर चिडियाखानामा संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु गरिएको छ।
चिडियाखानामा रहेका जीवजन्तुमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि असार २ गते नमुना परीक्षणका लागि पशु सेवा विभाग पठाइएको थियो। परीक्षणपछि असार ३ गते बर्ड फ्लु पुष्टि भएको विभागले जनाएको छ। विभागले तत्काल समन्वय र नियन्त्रणका लागि टोली खटाए पनि चिडियाखाना भने तीन दिनसम्म खुला नै राखिएको थियो।
असार ५ गते मात्रै चिडियाखाना प्रशासनले बर्ड फ्लु देखिएको भन्दै अनिश्चितकालका लागि चिडियाखाना बन्द गर्ने सूचना जारी गरेको थियो। संक्रमण पुष्टि भएको विषय समयमै सार्वजनिक नगरेको तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई जानकारी नदिएको आरोपमा चिडियाखाना प्रमुख साहमाथि छानबिन थालिएको हो।
कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरीको निर्देशनमा कोषले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। कोषकी प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा गठित समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा। मधु क्षेत्री सदस्य छन्। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
तीन महिनादेखि फैलिँदै बर्ड फ्लु
गत चैत ६ गते कोशी प्रदेशको मोरङमा पहिलोपटक पुष्टि भएको बर्ड फ्लु तीन महिनासम्म पनि नियन्त्रणमा आउन सकेको छैन। पशु सेवा विभागका अनुसार हाल कोशी प्रदेशका मोरङ, सुनसरी र झापा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र काभ्रे, मधेशका बारा र महोत्तरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा संक्रमण फैलिसकेको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार नेपालमा पहिलोपटक यति लामो समयसम्म बर्ड फ्लुको प्रकोप कायम रहेको छ। विशेषगरी काठमाडौं उपत्यका अहिले संक्रमणको ‘हटस्पट’ बनेको भन्दै उनले अवस्था चिन्ताजनक रहेको बताए।
संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाखभन्दा बढी कुखुरा, १० लाख ५० हजार अण्डा तथा २ लाख ५० हजार किलोभन्दा बढी दाना नष्ट गरिएको विभागले जनाएको छ।
मानिसमा पनि जोखिम
विश्व पशु स्वास्थ्य संगठन (ओआईई) का अनुसार बर्ड फ्लु इन्फ्लुएन्जा ‘ए’ समूहअन्तर्गत पर्ने भाइरसबाट हुने संक्रामक रोग हो। विशेषगरी ‘एच–५ एन–१’ भाइरस चराचुरुङ्गीमा फैलिने भए पनि जनावर र मानिसमा समेत सर्न सक्ने भएकाले यसलाई गम्भीर रूपमा लिइन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार चराको बिस्टा, र्याल, मासु, प्वाँख, सिँगान, अण्डा तथा दानाको सम्पर्कबाट संक्रमण सर्न सक्छ। उनले मानिसमा संक्रमण भए मृत्यु दर ५० प्रतिशतसम्म पुग्न सक्ने विभिन्न अध्ययनले देखाएको बताए।
उपचार र खोप छैन
पशु सेवा विभागका अनुसार बर्ड फ्लुको हालसम्म प्रभावकारी खोप वा उपचार उपलब्ध छैन। संक्रमण पुष्टि भएका कुखुरा तथा संक्रमित सामग्री नष्ट गर्नु नै यसको नियन्त्रणको प्रमुख उपाय हो।
विभागले किसानलाई जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न, फार्ममा सरसफाइ कायम राख्न तथा कुखुरा वा चराचुरुङ्गीमा असामान्य लक्षण देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ।
नेपालमा सन् २००९ मा झापामा पहिलोपटक बर्ड फ्लु पुष्टि भएको थियो। त्यसयता हरेक वर्षजसो संक्रमण देखिँदै आएको छ। सन् २०१९ मा नेपालमा एक व्यक्तिको बर्ड फ्लुका कारण मृत्यु भएको पुष्टि भएको थियो।


