झापा, ९ असार । झापाको झापा गाउँपालिका–५ पन्थापाडा हुलाकी राजमार्ग क्षेत्रमा लागूऔषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ परेका छन् ।
आइतबार साँझ प्रहरी चौकी शरणामतिबाट प्रहरी निरीक्षक तीर्थबहादुर भण्डारीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१० का २२ वर्षीय रोहित कटुवाल र २७ वर्षीय सन्तोष राजवंशी रहेका छन् । प्रहरीका अनुसार उनीहरूले कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ । बरामद पदार्थको तौल प्लास्टिकसहित ६ ग्राम ४०० मिलिग्राम तथा प्लास्टिक बाहेक ५ ग्राम ३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


