राजबाबु शंकर
कार्यकारी सारांश :
नेपालको मोफसल पत्रकारिताको इतिहासमा झापा जिल्ला एक अत्यन्त उर्वर, गतिशील र अग्रणी भूमिको रूपमा स्थापित छ । वि.स. २०१० को दशकको साहित्यिक चेतना र हस्तलिखित प्रयासबाट शुरु भएको झापाको पत्रकारिताले हालसम्म आइपुग्दा ७ दशकभन्दा लामो गौरवमय यात्रा तय गरिसकेको छ । पञ्चायतकालीन कठोर सेन्सरशिप र राजनीतिक एवम् सामाजिक चेतनावाहकहरू भूमिगत रहनु परेको कालखण्ड, २०४६ सालपछिको बहुदलीय प्रजातान्त्रिक वातावरण, १० वर्षे सशस्त्र द्वन्द्वको त्रासदीपूर्ण मार र २०६२–’६३ को जनआन्दोलन हुँदै वर्तमानको संघीय गणतान्त्रिक सूचना क्रान्तिसम्मका आरोह–अवरोह यस क्षेत्रले भोगेको छ ।
प्रस्तुत शोधपूर्ण आलेखमा झापाली पत्रकारिताको ऐतिहासिक जग, हस्तलिखित कालखण्डदेखि डिजिटल ‘न्यू मिडिया’सम्मको विकासक्रम, संस्थागत विकास, लैंगिक तथा सामाजिक समावेशिताको अवस्था, भोगेका बहुआयामिक चुनौतिहरू र यस पेशालाई अझ बढी जनमैत्री, उत्तरदायी, विश्वसनीय एवम् वित्तीय रूपमा दिगो बनाउन चाल्नु पर्ने व्यावहारिक तथा नीतिगत कदमहरूलाई तथ्यपरक ढङ्गले संश्लेषण गर्ने प्रयास गरिएको छ ।
१. पृष्ठभूमि र विषय–प्रवेश :
नेपालमा पत्रकारिताको संस्थागत इतिहास वि.स. १९५५ को ‘सुधा सागर’ (निजी क्षेत्रबाट प्रकाशित साहित्यिक मासिक पत्रिका) र १९५८ साल जेठ ३ देखि ‘गोरखापत्र’ (सरकारद्वारा प्रकाशित समाचारमूलक साप्ताहिक पत्रिका) को प्रकाशनबाट प्रारम्भ भएको मानिए पनि राजधानी बाहिर अर्थात् मोफसलमा यसको वास्तविक विस्तार २००७ सालको राजनीतिक परिवर्तन र प्रजातन्त्रको उदयपछि मात्र सम्भव भयो । भौगोलिक रूपमा नेपालको पूर्वी प्रवेशद्वार र राजनीतिक एवम् साहित्यिक चेतनाका हिसाबले ‘क्रान्तिको उर्वर भूमि’ मानिने झापा जिल्ला पत्रकारिता र सामाजिक रूपान्तरणको केन्द्र रहँदै आएको छ ।
वि.स. २०१७ पूसपछिको निर्दलीय राजनीतिक व्यवस्था, दलीयता निषेधको अवस्था र २०२८ सालको ‘झापा विद्रोह’ जस्ता नक्सलीय घटनाक्रमले यहाँका नागरिकमा राजनीतिक चेतना मात्र जगाएनन्, अपितु राज्यको सूचनाको एकाधिकारलाई तोड्दै वैकल्पिक सञ्चार प्रवाहको भोक समेत पैदा गरेको थियो । फलतः झापाको पत्रकारिता केवल घटनाहरूको निरपेक्ष संवाहक मात्र नरहेर निरंकुशता विरुद्धको वैचारिक हतियार, व्यवस्था परिवर्तनको अग्रदूत र नागरिक अधिकारको प्रखर पहरेदारका रूपमा स्थापित भयो ।
२. पत्रकारिताको शुरुवात (ऐतिहासिक कालखण्ड र जग) :
झापामा पत्रकारिताको बीजारोपण अन्य क्षेत्र जस्तै प्रारम्भमा साहित्यिक जागरण र हस्तलिखित पत्रिकाहरूको माध्यमबाट भएको पाइन्छ । यसको विकासक्रमलाई निम्न ऐतिहासिक चरणमा बुझ्न सकिन्छ—
क) प्रारम्भिक प्रयास र हस्तलिखित कालखण्ड (वि.स. २०१०–२०२४)
वि.स. २००७–२००८ तिरै झापाका केही उत्साही साहित्यकारको लेखनी र युवाहरूले हस्तलिखित पत्रिका निकालेर स्थानीय स्तरमा वैचारिक विमर्शको शुरुवात गरेका थिए । भद्रपुर, शनिश्चरे, शान्तिनगर र गौरीगञ्ज जस्ता पुराना व्यापारिक केन्द्रहरूबाट यस्ता प्रयासहरू भएका थिए ।
झापा जिल्लाको हकमा २०१० साल मंसीर १२ गते भद्रपुरबाट प्रकाशित ‘केटो’ मासिकलाई तत्कालीन मेची अञ्चलकै पहिलो पत्रिका र सोही पत्रिकाका सम्पादक श्यामकृष्ण उपाध्याय (लामिछाने) लाई नेपालको पूर्वी भू–खण्डकै पहिलो पत्रकार (आदिपत्रकार) मानिन्छ । त्यस अघि नै महानन्द सापकोटा जस्ता सिद्धहस्त साहित्यकारले झापाको प्राज्ञिक र वैचारिक चेतना निर्माणमा प्रारम्भिक जग हालेको पाइन्छ भने उपाध्यायकै समकालीन स्वयम्भूलाल श्रेष्ठको भूमिका पनि पाउन सकिन्छ ।
त्यस अघि २००९ सालमा इलामबाट महानन्द सापकोटाको सम्पादन ‘हाम्रो नेपाल’ नामक साहित्यिक पत्रिकाको छपाई भने झापाको भद्रपुरस्थित पूर्वाञ्चल प्रेसमा भएको इतिहास छ । अपितु, झापा जिल्लाको हकमा ‘केटो’ नै पहिलो मुद्रित समाचारप्रधान पत्रिका थियो – जसले यस जिल्लालाई पत्रकारिताको क्षेत्रमा प्रवृत्त गरायो ।
त्यसपछि २०१५ सालदेखि २०१८ सम्म केही सामयिक संकलनहरू प्रकाशित भएको अभिलेख पाइन्छ भने २०१८ साल भदौदेखि श्यामकृष्ण उपाध्यायकै सम्पादनमा भद्रपुरबाट ‘युवक’ पत्रिकाको प्रकाशन हुन थालेको इतिहास छ । समाचारहरूका अतिरिक्त साहित्यिक सिर्जना र लेख–रचनाहरू प्रकाशन भएको देखिन्छ । सोही वर्ष ‘दियो’ नामक हस्तलिखित पत्रिका पनि केही समयसम्म निकालिएको सो प्रकाशनसँग सम्बद्ध दिव्य भूर्तेल (भद्रपुर)को कथन छ ।
यसपछिको अवधिमा ‘पाउलो’, ‘आँखो’, ‘पञ्चायत’ (मासिक), ‘मेची सन्देश (पाक्षिक)’, ‘मोती’, ‘कस्तुरी’, ‘साँचो’ (पाक्षिक), ‘मुना’, ‘आलोक’ (साप्ताहिक) ‘हिमाल’, ‘पञ्चामृत (मासिक)’, ‘गोरेटो’, ‘सूर्योदय’ (साप्ताहिक), ‘सिद्धार्थ’ (पाक्षिक) आदि नामका पत्रिका प्रकाशन भएको पाइन्छ ।
झापा जिल्लामा पत्रपत्रिका पंजीकरण (झापा जिल्ला प्रशासन कार्यालयमा दर्ता)को थालनी भने २०२० साल भदौ १७ गते ‘भानु’ साहित्यिक त्रैमासिकबाट भएको भेटिन्छ । जसको सम्पादक भवानीप्रसाद घिमिरे थिए ।
ख) छापा समाचार पत्रकारिताको उदय र ऐतिहासिक कोशेढुङ्गा (वि.स. २०२५–२०४६)
झापाको समाचारमूलक र व्यावसायिक पत्रकारिताको इतिहासमा यो कालखण्ड ऐतिहासिक कोशेढुङ्गा हुन् ।
- ‘आलोक’ (२०२५–२०४५) :
श्यामकृष्ण उपाध्यायको सम्पादन र प्रकाशकत्वमा वि.स. २०२५ भदौ १ गतेदेखि भद्रपुरबाट ‘आलोक’ साप्ताहिकको प्रकाशन प्रारम्भ भयो । यसले झापामा पहिलोपटक संस्थागत र समाचारमूलक पत्रकारिताको जग बसायो ।
- ‘विवेचना’ (२०२९) :
अग्रज पत्रकार नकुल काजीको सम्पादनमा वि.स. २०२९ मा ‘विवेचना’अर्द्ध साप्ताहिकको प्रकाशन शुरु भयो । ‘विवेचना’ मार्फत जनमैत्री, निर्भीक, व्यावसायिक र खोजी पत्रकारिताको जग बसाल्न र नकुल काजीको योगदान मोफसलकै इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । पञ्चायतको कठोर सेन्सरशिपका बाबजुद यस पत्रिकाले चालेका कदमहरू ऐतिहासिक छन् ।
त्यस कालखण्डमा स्वयम्भूलाल श्रेष्ठ, एस.एल शर्मा, बसन्तकुमार खड्का, भवानी घिमिरे, चूडामणि रेग्मी, हृषीकेश मरहठ्ठा, डिल्लीराम निर्भीक, रामप्रसाद पोखरेल, द्रोणाचार्य क्षेत्री, केबी कार्की, गोविन्दचन्द्र छेत्री जस्ता व्यक्तित्वहरूले यहाँको पत्रकारितालाई विस्तार गरेका थिए । तत्कालीन शासनावधिमा वैचारिक पत्रकारितामा योगदान दिंदै उनीहरूले कठिन परिस्थितिबीच पत्रकारिताको दियो बालिरहे ।
तत्कालीन समयमा झापामा छापाखाना (प्रिन्टिङ प्रेस) सीमित संख्यामा हुँदा पञ्चायतइतर वैचारिक धारलाई पृष्ठपोषण गर्ने पत्रिकाहरू छाप्नका लागि भने सीमावर्ती इण्डियाका शहरहरू नक्सलबाडी वा सिलिगुडी धाउनु पर्ने बाध्यता पनि थियो । तर, राजनीतिक रुपमा तत्कालीन संस्थापन पक्षधर पत्रिकाहरू यहींकै छापाखानामा छापिने गरेको अग्रज पत्रकार नकुल काजीको भनाइ छ ।
उसबेला महाविद्यालय, विद्यालयहरू र सदरमुकाम समेत चन्द्रगढीमै भएका कारण राजनीतिक गतिविधिको शीर्ष केन्द्र झैं रहेको भद्रपुरमा २००९ सालमा पहिलो छापाखाना महानन्द सापकोटाद्वारा स्थापित पूर्वाञ्चल.प्रिन्टिङ प्रेस थियो, जुन पछि गोपाल प्रिन्टिङ प्रेस भयो । त्यसको केही अवधिपछि शर्मा प्रेस, आलोक प्रेस, मणि प्रिन्टिङ प्रेस, विवेचना छापाखानाले पत्रपत्रिका प्रकाशन गर्ने गरेको इतिहास पाइन्छ ।
३. संक्रमणदेखि संस्थागत विकासक्रम :
विकासक्रमको चरण= [साहित्यिक/ हस्तलिखित] –––> [साप्ताहिक पत्रिका (पञ्चायतकाल)] –––> [दैनिक पत्रिकाहरूको बाढी] –––> [एफ.एम. रेडियो/ टीभी] –––> [डिजिटल/ अनलाइन पोर्टल]
क) साप्ताहिकबाट दैनिक पत्रिकाको यात्रा :
४० को दशकको अन्त्य र ०५० को दशकको शुरुवातसँगै प्रविधिको विकास र पाठकको मागका कारण कतिपय साप्ताहिक पत्रिकाहरू दैनिकमा रूपान्तरण हुन थाले । २०३९ साल असार १३ गते झापाको जेठो दैनिकका रूपमा भद्रपुरबाट ‘हिजो–आज’ दैनिकको प्रकाशन शुरु भएपछि भद्रपुरबाटै ‘झापा एक्सप्रेस’ (२०४९ साल) र ‘विवेचना दैनिक’ (२०५० साल भदौ) तथा बिर्तामोडबाट ‘पूर्वाञ्चल’ (२०५२।८।१ देखि)को प्रकाशन हुन थाल्यो । त्यसपछि अन्य दैनिक छापा सञ्चारमाध्यमहरूले दैनिक रूपमा समाचार-पत्र पाठकको घरदैलोमा पुरयाउन थाले । यी पत्रिकाहरूले मोफसलको आवाजलाई राष्ट्रिय मूलधारसम्म पुरयाउने काम समेत गरेका थिए ।
ख) मोफसलको ‘मिडिया हब’:
प्रारम्भमा झापाको पत्रकारिता तत्कालीन सदरमुकाम भद्रपुरमा मात्र केन्द्रित थियो । झापा जिल्लाको हकमा पत्रिकाको आदिभूमि भद्रपुरमा केन्द्रित पत्रकारिता व्यापारिक र आर्थिक केन्द्रहरूको स्थानान्तरणसँगै विस्तारै बिर्तामोड, काँकडभिट्टा र दमकसम्म विकेन्द्रित भयो । ३० को दशकमा झापा मोफसलकै सबैभन्दा धेरै सञ्चारमाध्यम भएको अग्रणी जिल्ला बनेको थियो । २०४६ साल पूस ९ गते काठमाडौंबाट आएका चर्चित पत्रकारहरू गोविन्द वियोगी, हिरण्यलाल श्रेष्ठ, होमनाथ दाहाल, टीआर विश्वकर्मा, प्रेम कैदी, विनोद दीक्षित, सोमनाथ घिमिरे, रघु पन्तसँग झापाका पत्रकारहरूको छलफलपछि ‘झापा घोषणा–पत्र’ जारी गर्दै डिल्लीराम निर्भीकको अध्यक्षतामा झापामा नेपाल पत्रकार संघ (प्रजातन्त्र पक्षधर वियोगी समूह) को पहिलो तदर्थ समिति गठन भएको सो भेलामा उपस्थित अग्रज पत्रकार गोविन्दचन्द्र छेत्रीको कथन छ । सो संयुक्त भेला झापाको गैंडेस्थित कन्काई सिंचाई योजनाको सभाकक्षमा भएको थियो ।

[झापाको गैंडेमा भएको संयुक्त पत्रकार भेला : (दायाँबाट क्रमशः) होमनाथ दाहाल, गोविन्द वियोगी, सोमनाथ घिमिरे, गोविन्दचन्द्र छेत्री, गोविन्द गुलाफ, २०४६]
जनआन्दोलन र प्रजातन्त्रको पुनरावृत्तिपछि जारी भएको नेपाल अधिराज्यको संविधान–२०४७ ले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेपछि झापाको पत्रकारिताले गुणात्मक र संख्यात्मक रूपमा फड्को मारेको थियो ।
- पछिल्लो आधिकारिक तथ्याङ्क :
सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल–नेपालको हालैको अभिलेख अनुसार, झापा जिल्लामा हालसम्म साना–ठूला गरी १५० भन्दा बढी सञ्चारमाध्यमहरू दर्ता भएका छन् । तीमध्ये हाल ५ वटा दैनिक पत्रिका, २४ वटा साप्ताहिक, एउटा मासिक र एउटा त्रैमासिक पत्रिका मात्रै नियमित प्रकाशनमा देखिएका छन् ।
ग) इलेक्ट्रोनिक मिडिया (रेडियो र टेलिभिजन)को आगमन :
वि.स. ६० को दशकको शुरुवातसँगै झापामा एफ.एम. रेडियोको लहर आयो । झापाको पहिलो रेडियो ‘कञ्चनजंघा एफ.एम.’को प्रसारण २०५९ असोज २१ बाट प्रारम्भ भएपछिको अवधिमा पहिलो सामुदायिक रेडियोका रूपमा धुलाबारीमा रेडियो सरगमपछि भद्रपुरमा नागरिक एफ.एम. र सुरुंगामा रेडियो सन्देश स्थापना भएका थिए । व्यापारिक रूपमा पनि लगालगीजसो एफ.एम.को स्थापना हुँदै गयो ।
झापामा प्रसारणार्थ दर्ता भएका १८ वटा एफ.एम.मध्ये हाल यस जिल्लामा सामुदायिकमध्ये नागरिक एफ.एम.को मात्रै प्रसारण जारी छ भने व्यावसायिक एफ.एम.मध्ये ९ वटा मात्र सञ्चालित छन्; जसले ग्रामीण भेगसम्म सूचना, जनसचेतना र मनोरञ्जनका श्रव्य–सामग्रीहरू प्रसारण गर्दै आएका छन् ।
श्रव्य–दृश्य माध्यम (टेलिभिजन) तर्फ दमकमा २०६७ साल कार्तिक २० गतेबाट प्रसारण प्रारम्भ गरेको ‘हिमशिखर टेलिभिजन’ र बिर्तामोडमा २०७३ को वर्षारम्भदेखि प्रसारित ‘सूर्योदय टेलिभिजन’ले स्थानीय मुद्दा, सामाजिक गतिविधि, कला, संस्कृति र समाचारलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेर महत्वपूर्ण योगदान गरिरहेका छन् ।
घ) डिजिटल फर्स्ट र न्यू मिडिया :
वर्तमान समयमा झापाको पत्रकारिता ‘डिजिटल फर्स्ट’ को दिशामा छ । कागजी पत्रिकाको लागत वृद्धि र प्रविधिको तीव्र विकासका कारण सय बढी अनलाइन पोर्टलहरूले अपडेट समाचार दिने प्रतिस्पर्धा गरिरहँदा.सूचना प्रवाहको गतिलाई तीव्र बनाएको छ । जसले दर्जनौं मुद्रित (छापा) माध्यमको अस्तित्वमाथि ठूलो आर्थिक संकट र चुनौति समेत थपिदिएको छ । समयको यो बहावमा कतिपय छापा माध्यमले पनि अनलाइन संस्करण मार्फत आफ्नो उपस्थितिलाई समयानुकूल तुल्याउने क्रम समेत जारी राखेका छन् ।
४. पत्रकारिताका आरोह–अवरोह र ऐतिहासिक घुम्तीहरू :
झापाको पत्रकारिता सहज यात्रामा थिएन र अहिले पनि छैन । यसले विभिन्न राजनीतिक, सामाजिक र आर्थिक उतारचढाव झेल्दै आएको छ । खासगरी हरेक राजनीतिक परिवर्तनमा यहाँको पत्रकारिताले ठूलो मूल्य पनि चुकाउनु परेको छ—
- पञ्चायतकालीन दमन र जफतको युग :
पञ्चायतकालमा ‘आलोक’, ‘विवेचना’, ‘युगज्ञान’, ‘सिद्धार्थ’ जस्ता पत्रिकाहरूले स्थानीय प्रशासन (अञ्चलाधीश र सिडिओ) को कडा कोपभाजनमा पर्नु परयो । राजतन्त्र, पञ्चायती व्यवस्था र प्रशासनका बेथिति बारे समाचार लेखेकै आधारमा पत्रिकाको दर्ता खारेज हुने, सम्पादकहरू जेल बस्नु पर्ने र प्रेसमा ताला लगाइने घटनाहरू सामान्य जस्तै थिए ।

- द्वन्द्वकाल (१० वर्षे सशस्त्र युद्ध) को मार (वि.स. २०५२–२०६३) :
नेकपा (माओवादी) को सशस्त्र विद्रोह र राज्यको सैन्य अपरेशनको चेपुवामा झापाका पत्रकारहरू पनि परे । एकातिर विद्रोही पक्षबाट भौतिक आक्रमण र धम्की हुन्थ्यो भने अर्कोतिर राज्य पक्ष (प्रहरी) बाट धरपकड, यातना र शाही सेनाबाट ‘बंकर’ मा थुन्ने जोखिम हुन्थ्यो । त्यो समयमा राज्य र विद्रोही दुबै पक्षको कोपभाजनमा झापाका पत्रकारहरू पनि परे । पत्रकारहरूमाथि धरपकड, भौतिक आक्रमण र विस्थापनका घटनाहरू भए । कतिपय पत्रकारले सेनाको बंकरमा पनि सास्ती झेले । यसै अवधिमा झापाका कतिपयले पत्रकारिता पेशा नै त्याग्न बाध्य हुनु परयो ।
२०६२–६३ सालको आन्दोलनमा मोर्चाबन्दी :
शाही शासनकालमा मिडियामाथि लागेको सेन्सरशिपका विरुद्ध झापाका पत्रकारहरूले सडकमै उत्रिएर आन्दोलन गरे । त्यसबेला लोकतन्त्र स्थापनाका खातिर झापाका पत्रकारहरूले सडकमै उत्रिएर र रिले–अनशनमा समेत बसेर निर्वाह गरेको भूमिका ऐतिहासिक छ । नेपाल पत्रकार महासंघको झापा जिल्ला शाखाको नेतृत्वमा पत्रकारहरूले ‘मिसन लोकतन्त्र’ अन्तर्गत समाचार सम्प्रेषण गरे, जसले गर्दा जिल्लामा जनआन्दोलन सफल बनाउन जनलहर पैदा भयो । यही अवधिपछि ‘मिसन’ पत्रकारिता व्यावसायिकता तर्फ मोडिएको हो ।
- कोभिड–१९ को महामारी र आर्थिक महामन्दीको मार :
वि.स. २०७६ पछिको कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक शिथिलता झापाली पत्रकारिताका लागि सबैभन्दा ठूलो ‘अवरोह’ सावित भयो । विज्ञापन बजार ८० प्रतिशतसम्म संकुचन हुन पुग्दा धेरै स्वरोजगारमूलक र साना लगानीका पत्रिकाहरू सदाका लागि बन्द भए भने कार्यरत सञ्चारकर्मीहरूले महिनौंसम्म पारिश्रमिक नपाउने वा रोजगारी गुमाउनु पर्ने पीडादायी अवस्था पनि झेले ।
५. वर्तमान अवस्थामा चुनौति र समस्याहरू :
झापाको पत्रकारिता अहिले जटिल मोडबाट गुज्रिरहेको छ । संख्यात्मक रूपमा सुदृढ देखिए पनि गुणात्मक र नैतिक रुपमा गम्भीर सङ्कटको सामना गरिरहेको छ । यसका प्रमुख समस्याहरू यसप्रकार छन्—
क) दिगो आर्थिक मोडेलको अभाव : बजारको विज्ञापन सीमित व्यक्ति र एजेन्सीको नियन्त्रणमा छ । स्थानीय सरकारले वितरण गर्ने लोककल्याणकारी विज्ञापनमा पारदर्शिता र समन्यायिकताको ठूलो अभाव छ । संघीय सरकारले विज्ञापन बोर्ड मार्फत उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन नियमित बजारीकरण गरिरहेका छापामाध्यमका हकमा प्रकाशन टिकाउन राहतप्रदायक भए पनि नियामक निकायद्वारा बरोबर निगरानी एवम् अनुगमन नहुने गरेकोले हरेक महिनाको अन्त्यतिर एकैचोटि केही पत्रिका मात्रै छापेर अर्को महिनाको ७ गतेभित्र तोकिएको सरकारी निकायमा बिल बुझाएर सरकारी हण्डी उदरस्थ गर्दै आएका कीर्ते पत्रकारहरूको संख्या बग्रेल्ती रहेको छ । जुन सरासर सरकारी सहयोगको दुरुपयोग हो र अर्को अर्थमा भ्रष्टाचार समेत हो ।
ख) दक्ष जनशक्तिको तीव्र पलायन : पत्रकारिताले न्यूनतम जीविकोपार्जन समेत धान्न नसक्ने भएपछि पुराना, अनुभवी र क्षमतावान पत्रकारहरू पेशा परिवर्तन गरी राजनीति, एनजीओ वा वैदेशिक रोजगारी (खाडी र यूरोप) तर्फ पलायन भइरहेका छन् ।
ग) आचार–संहिताको उल्लंघन र भ्रमपूर्ण पत्रकारिता : सामाजिक सञ्जाल (फेसबूक, यूट्यूब, टिकटक, इन्स्टाग्राम) को बढ्दो प्रभावका कारण दृश्य र अनलाइन माध्यमहरूमा तथ्य जाँच नगरी सन्सनीपूर्ण र अपुष्ट समाचार हाल्ने ‘पीत पत्रकारिता’ मौलाएको छ । ‘ब्रेकिङ न्यूज’ को होडमा अपुष्ट र भ्रमपूर्ण समाचार प्रसारण गर्ने गरिएका छन् । त्यस्तैमध्ये कतिपयले ‘म पत्रकार हूँ’ भन्दै ढाँट्दै र धम्की दिएर उद्योगी–व्यापारी–निर्माण व्यवसायी, सुरक्षा निकाय आदिबाट असुली अवैध धन्धा पनि चलाउँदै आएका घटनावली बेला–बेलामा नसुनिएको वा नदेखिएको होइन । त्यस्ता ‘कुपत्रकार’ले पत्रकारिताको गरिमा धूलिसात मात्रै पारिदिएका छैनन्, पत्रकारको शाख र इज्जतमा समेत औंला ठड्याउने मौका दिइरहेका छन् ।
घ) स्व–सेन्सरशिप : राजनीतिक दलका नेता वा ठूला व्यावसायिक घरानाको वित्तीय लगानीमा पनि सञ्चालित कतिपय सञ्चार गृह वा पत्रकारहरूले देश र जनताका वास्तविक मुद्दा र वित्तीय घोटालाहरूमा कलम नचलाउने (स्व–सेन्सरशिप) को शिकार भएका छन् । अर्थात्, त्यस्ता प्रायोजनमा टिकेका र पोषितहरू ‘पत्रकार’ नभएर ती दलका दास वा व्यावसायिक टाइकुनका ‘प्यादा’ बनेका छन् ।
६. पत्रकारितालाई जनमैत्री, मर्यादित र विश्वसनीय बनाउन व्यावहारिक सुझावहरू :
झापाको गौरवमय पत्रकारिता इतिहासलाई जोगाउन यसलाई अक्षुण्ण राख्दै चौथो अङ्गको रूपमा पुनर्स्थापित गर्न र अझ बढी जनउत्तरदायी बनाउन निम्न कदमहरू अविलम्ब चालिनु आवश्यक छ—
क) विषयगत विशिष्टीकरणमा जोड :
अबको पत्रकारिता ‘सबैले सबै लेख्ने’ भन्दा पनि विज्ञतामा आधारित हुनु पर्ने आवश्यकता छ । अर्थात्, ‘सबैले जे पनि लेख्ने’ सतही शैलीबाट माथि उठ्नु पर्छ । कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा, विज्ञान–प्रविधि, खेलकूद, मनोरञ्जन, राजनीति, मानव अधिकार लगायत छुट्टाछुट्टै बीटहरूमा लेख्ने पेशागत रुपमा काबिल पत्रकार उत्पादन हुन आवश्यक देखिएको छ । जस्तैः कृषि (झापा देशकै अन्नभण्डार र चिया क्षेत्र हो), शिक्षा, जनस्वास्थ्य, वातावरण, पर्यटन, स्थानीय अर्थतन्त्रदेखि लिएर सीमा नाकाबाट भइरहेको सामान र पशु चौपायाको तस्करी, नेपाली कृषिजन्य पैदावार (उत्पादन) निकासी (निर्यात)मा इण्डिया सरकारले बारम्बार गरिरहने अवरोध, हात्ती–मानव द्वन्द्व, मानव बेचबिखन, लागू औषधको कारोवार, नेपाल–इण्डिया सीमा समस्या, अपराधीको सुपुर्दगी जस्ता गम्भीर एवम् जटिल समस्यालाई लिएर गरिने/गर्नु पर्ने खोजी पत्रकारिताका लागि विशिष्टीकृत तालिम दिई पत्रकारहरूलाई दक्ष बनाइनु जरुरी छ ।
ख) डिजिटल साक्षरता र कडा नियमन :
अनलाइन माध्यमहरूलाई व्यवस्थित गर्न ततसम्बन्धी तालिम र प्रेस काउन्सिलसँगै व्यावसायिक छाता संस्था नेपाल पत्रकार महासंघ समेतको आचार–संहितालाई अक्षरशः पालना गराउन जिल्लास्थित पत्रकार महासंघले कडा भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता खड्किएको छ । खासगरी, न्यू मिडिया र अनलाइन न्यूज पोर्टलहरूलाई जिम्मेवार बनाउन आचार–संहिताको पालनामा शून्य सहनशीलताको नीति लिइनु जरुरी छ । मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिलाई रोक्न जिल्लास्तरमै ‘तथ्य जाँच संयन्त्र’ निर्माण गरिनु वाञ्छनीय हुन्छ ।
ग) समानुपातिक विज्ञापन प्रणाली र दिगो मिडिया व्यवस्थापन :
स्थानीय सरकार (पालिका) र प्रदेश सरकारले लोककल्याणकारी विज्ञापन वितरण गर्दा पहुँच, नातागोता र राजनीतिक साइनोका आधारमा नभई गुणस्तर, नियमितता र बजारीकरणका आधारमा समानुपातिक एवम् र पारदर्शी वितरण प्रणाली लागू गर्नु पर्छ । साना लगानीका सञ्चारमाध्यमहरूलाई ‘मर्जर’ (एकीकरण) को नीति पनि विकल्प हुन सक्छ ।
लगानी अभावमा छट्पटिएका साना र स्वरोजगारमूलक सञ्चारमाध्यमहरू एक्लाएक्लै सञ्चालन हुनुभन्दा २ वा २ भन्दा बढी मिडियाहरू एकापसमा गाभिने (मिडिया मर्जर) उपक्रम व्यवस्थित सञ्चार गृह निर्माण गर्ने दिगो नीतिगत वातावरण तयार पारिनु पर्छ ।
घ) सामुदायिक उत्तरदायित्व र खोज पत्रकारिता :
पत्रकारितालाई केवल सत्ताको भजन गाउने, अन्ध समर्थन गर्ने माध्यम नबनाई आम नागरिकका समस्या, अपेक्षा र खाँचोलाई प्राथमिकता दिंदै सामाजिक बेथिति, अपराध, अशान्ति, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती, सामाजिक विसङ्गति र कुशासनका विरुद्ध प्रखर पैरवीकर्ताका रूपमा उभ्याउन निरन्तर खोजमूलक लेखनवृत्तिको व्यवस्था गरिनु पर्छ । विपन्न र आवाजविहीन नागरिकका समस्यालाई प्राथमिकता दिएर समाचार बनाउने परिपाटीको विकास गरिनु पर्छ ।
ङ) सुरक्षा र न्यूनतम पारिश्रमिक :
पत्रकारहरूको भौतिक र पेशागत सुरक्षाका लागि ‘बीमा’, सामाजिक सुरक्षा कोषमा सहभागिता र श्रमजीवी पत्रकार ऐन अनुसारको न्यूनतम पारिश्रमिकको व्यवस्था कार्यान्वयन गरिनु पर्छ । जसका निम्ति तीनै तहका सरकारले सञ्चारमाध्यमहरूको दिगो विकासलाई बढावा दिन संस्थागत वित्तीय पोषणका आकर्षक प्याकेजहरू तय गर्नु पर्छ ।
७. संस्थागत विकास र समावेशिताको सवाल :
सञ्चारकर्मीहरूको पेशागत सुरक्षणमा प्रदेश सरकारको महत्वपूर्ण योगदान रहँदै आएको छ । कोशी प्रदेश सरकार मातहतका मन्त्रालयहरूले सञ्चारकर्मीहरूलाई भौतिक पूर्वाधार निर्माण, कार्यालय व्यवस्थापन, सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम लगायतमा वर्षेनी वित्तीय सहयोग प्रदान गर्दै आइरहेको छ ।
यस सन्दर्भमा कोशी प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाको भनाइ छ— ‘प्रदेश सरकारले पत्रकारहरूलाई सुरक्षित र पेशालाई दिगो बनाउनका निम्ति संस्थागत संरचना निर्माण, क्षमता विकास कार्यक्रम, लेखन–वृत्ति मार्फत साथ, समर्थन र सहयोग गर्दै आएको छ । अब सम्भवतः आउँदो आर्थिक वर्षबाट पत्रकारको दुर्घटना बीमा कार्यक्रम र सञ्चारजन्य विषयहरू हेर्ने र सम्बोधन गर्नेगरी प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गर्ने विषय हाल पाइपलाइनमा रहेको जानकारी गराउन चाहन्छु ।’
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले वर्षैपिच्छे प्रदेशभरिका ज्येष्ठ एवम् अग्रज पत्रकारहरूलाई ‘दीर्घसेवा सम्मान’का साथ १ लाख रुपैयाँ प्रदान गरेर गुन लाउँदै आइरहेको छ । यद्यपि, यस सम्मानका निम्ति गरिएका कतिपय पात्र चयनमा निर्णायक–मण्डली वा सिफारिशकर्ताबाट निरन्तरता, ज्येष्ठता, सक्रियता जस्ता मापदण्ड मिचेर आस्थागत पक्षपात हुने गरेको आरोपलाई चिर्न भने आवश्यक छ ।
साथै, प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत झापा जिल्ला सदरमुकामस्थित सञ्चारकर्मीहरूको संस्था ‘प्रेस क्लब–भद्रपुर’ को एक तले कार्यालय निर्माणार्थ आर्थिक वर्ष २०८१-८२ मा १४ लाख ८६ हजार बजेट उपलब्ध गराएर प्रदेश सरकार सञ्चारकर्मीहरूको परम हितैषी एवम् संरक्षकको भूमिकामा रहेको सुखद बोध गराएको छ ।
यसै परिप्रेक्ष्यमा नेपाल पत्रकार महासंघको झापा शाखाले प्रशंस्य भूमिका निर्वाह गर्दै आएको छ । महासंघले श्रमजीवी पत्रकारहरूको भौतिक एवम् पेशागत सुरक्षाका लागि आवाज उठाउनुका साथै ६ वटा पत्रकारिता पुरस्कारहरूको स्थापना गरेर लेखनशिल्पी पत्रकारहरूलाई प्रोत्साहित गर्दै आएको छ ।
त्यसका अतिरिक्त हाल डेढ करोड रुपैयाँको अक्षय कोष रहेको ‘पत्रकार सहारा उपचार कोष’ मार्फत पत्रकार दुर्घटनामा पर्दा, बिरामी हुँदा, सुत्केरी हुँदा, ज्येष्ठ पत्रकार पेन्सन र मृत्यु हुँदा उल्लेख्य वित्तीय सहयोग प्रदान गर्दै आइरहेको छ ।
लैंगिक समावेशिता :
प्रारम्भिक चरणमा झापाको पत्रकारिता पूर्ण रूपमा पुरुष र निश्चित समुदायमा मात्र सीमित थियो । तर, पछिल्ला दुई दशकमा यस क्षेत्रमा महिला सहभागिता बढ्दै गएको छ । रेडियो र अनलाइन माध्यमको विकाससँगै झापामा महिला पत्रकारहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । नेपाल पत्रकार महासंघको झापा शाखामा आबद्ध २२० जना सदस्यमध्ये सञ्चारकर्मी महिलाको संख्या ३८ छ । तीमध्ये कतिपयले सांगठनिक नेतृत्वदायी भूमिका पनि निर्वाह गरिरहेका छन् ।
समावेशी प्रतिनिधित्व :
आदिवासी जनजाति, दलित, सन्थाल, मधेशी समुदायको संख्या समेत झापाको पत्रकारितामा बढ्दो छ । यसबाट झापाको पत्रकारिता समावेशी बन्दै गएको पुष्टि हुन्छ ।
८. उपसंहार :
झापाको पत्रकारिता एउटा नदी हो, जसले निरंकुशताको बगर चिर्दै नागरिक स्वतन्त्रता र लोकतन्त्रको उर्वर मैदान सिञ्चित गरेको छ । हिजोका दिनमा कठोर राजनीतिक परिवर्तनका लागि गरिएको ‘मिसन’ पत्रकारिता आजको खुला परिवेशमा ‘व्यावसायिक र प्रविधिमैत्री’ बन्ने प्रतिस्पर्धामा छ । अबको चुनौति भनेको प्रविधि र समसामयिक गतिसँगै पेशागत ‘विश्वसनीयता’ जोगाउनु हो ।
वर्तमानको संक्रमणकालीन प्रविधि र आर्थिक सङ्कटको भुमरीमा आफ्नो व्यावसायिक ‘विश्वसनीयता’ र ‘नैतिकता’ जोगाउनु नै झापाली पत्रकारिताको मुख्य परीक्षा हो । यदि झापाका सञ्चारकर्मी, मिडिया उद्यमी, पत्रकार महासंघ र नियामक निकायले आत्मसमीक्षा गर्दै तथ्यपरक निष्पक्षता, व्यावसायिक आचरण र जनसरोकारलाई केन्द्रमा राख्ने हो भने, ऐतिहासिक गौरव बोकेको यो जिल्लाले आगामी दिनहरूमा पनि, ३० को दशकमा झैं, मोफसलबाट पत्रकारिताको अग्रणी भूमिका निर्वहन गरिरहने सम्भावना जीवित छ ।
(सम्पादक : ‘साप्ताहिक समाचार)


