
झापा, ११ असार । झापामा नवजात शिशुको हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार परिवर्तित वतन जिल्ला ०४-४-१६ (ग) स्थित खाली जग्गामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा पीडित युवती (K.1) ले आफ्नै बुवाले जबर्जस्ती करणी गरी बच्चा जन्माएको र बुवाकै सल्लाहमा नवजात शिशुको शव गाडिएको प्रारम्भिक बयान दिएकी थिइन्।
उक्त घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खोजतलास गर्दा प्रतिवादी फरार रहेका थिए।
प्रहरीको प्राविधिक अनुसन्धान तथा विभिन्न जिल्लाका प्रहरीसँगको समन्वयमा प्रतिवादी इलाम जिल्लामा लुकीछिपी बसेको खुलेपछि विशेष सूचनाका आधारमा इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका प्रतिवादीलाई इलाका प्रहरी कार्यालय झिलझिलेमार्फत झापा ल्याई झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनामा पीडित युवतीलाई नेपाल सरकारको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।


