
मोरङ, १३ असार । मोरङमा यस वर्ष चैते धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मोरङका अनुसार गत वर्षको तुलनामा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको हो। तर उत्पादन बढे पनि बजार मूल्य घटेका कारण किसान भने निराश बनेका छन्।
कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहका अनुसार गत वर्ष जिल्लामा एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन चैते धान उत्पादन भएको थियो। यस वर्ष त्यो बढेर एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन पुगेको छ।
यस वर्ष चैते धान खेती हुने क्षेत्रफल पनि विस्तार भएको छ। गत वर्ष १७ हजार ७५५ हेक्टरमा खेती गरिएकोमा यस वर्ष १७ हजार ८५७ हेक्टरमा चैते धान लगाइएको छ। उत्पादकत्व पनि प्रतिहेक्टर ५.७१ मेट्रिकटनबाट बढेर ५.८० मेट्रिकटन पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
उत्पादन बढे पनि किसानले भने उचित मूल्य नपाएको गुनासो गरेका छन्। रङ्गेली नगरपालिका–१ का किसान चन्द्र अधिकारीका अनुसार गत वर्ष चैते धान प्रतिक्विन्टल दुई हजार ७०० रुपैयाँसम्म बिक्री भएको थियो। तर यस वर्ष मूल्य घटेर करिब दुई हजार रुपैयाँमै सीमित भएको छ।
बेलबारी–९ नलबारीका किसान नरबहादुर कटुवालले भण्डारण सुविधाको अभावले किसान बाध्य भएर सस्तो मूल्यमा धान बिक्री गर्नुपरेको बताउनुभयो। “भण्डारणको व्यवस्था किसानको पहुँचमा भएको भए यति कम मूल्यमा धान बेच्नुपर्ने अवस्था आउने थिएन,” उहाँले भन्नुभयो।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका १७ स्थानीय तहमध्ये सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदा क्षेत्रमा चैते धान खेती प्रमुख रूपमा गरिँदै आएको छ।


