
बिर्तामोड, १३ असार । झापाको बिर्तामोड नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ ।
पूर्णखोप निर्देशिकाअनुसार बिर्तामोडका १० वटै वडामा रहेका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
जनप्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा नगरपालिकाले नगर अस्पतालसहित सबै वडाका स्वास्थ्य संस्थाहरूलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईंले अगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि पूर्णखोप सुनिश्चितताको अवस्था कायम राख्ने प्रतिबद्धतासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको बताउनुभयो । नगर प्रमुख प्रसाईले कुनै पनि बालबालिका खोप पाउने अधिकारबाट वञ्चित हुन नहुने बताउँदै पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीले गरेको मेहनत प्रशंसनीय रहेको बताउनुभयो ।


